चितवन २५ मंसिर । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा प्रदान गर्ने शैक्षिक सस्थामा शिक्षकलाई राजनीति नगर्न अनुरोध गर्नु भएको छ ।
बालकुमारी मावि नारायणगढको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भन्नु भयो ‘विद्यालयमा ज्ञानको ज्योति फैलाउने ठाउ हो यहाँ कुनै पनि प्रकारका राजनीतिक गर्नु हुदैन, विडम्वना शैक्षिक सस्थामा नै राजनीति धेरै हुने गरेको छ ।’
विद्यालयभित्र राजनीति गर्नको लागि शिक्षकका संगठनहरु निर्माण नगरिएको भन्दै उहाँले पेशागत हकहित र सुरक्षाको काम गर्नुपर्ने धारणा राख्नुभयो । कुनै शिक्षक राजनीतिकर्मीको रुपमा उपस्थित भएमा कारबाही गर्ने समेत उहाँले चेतावनी दिनुभयो ।
कार्यक्रममा मन्त्री पौडेलले सिंगो परम्परागत शिक्षालाई बदल्नु पर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताउनु भयो । पढाइ सँगसँगै सिकाइ पनि हुने शिक्षा सुरुवात प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री पौडेलले सरकारले प्राविधिक शिक्षामा जोड दिँदै १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ सुरु गरेको जानकारी दिनु भयो । शिक्षा, पर्यटन र कृषि सरकारको मूल आधार भएको बताउँदै उहाँले शिक्षामा एक विद्यालय एक नर्स कार्यक्रम, सामुदायिक सबलीकरण कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, विभिन्न शिक्षाकर्मीहरुले आफ्नो धारणा राख्नु भएको थियो । विद्यालयले स्वर्ण महोत्सबका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।


