२३ करोडको लागतमा मेघौलीमा बन्ने राइनो पार्कको सिलान्यास, पर्यटनबाटै आर्थिक समृद्धि : मुख्यमन्त्री पौडेल

चितवन समाचार डटकम,
२४ मङसिर । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन र कृषिको विकासले मात्रै समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
चितवनको मघौलीमा निर्माण हुन लागेको राइनो पार्कको सिलान्यास कार्यक्रममा मंगलबार संवोधन गर्दै उहाले देशको अर्थतन्त्रमा पर्यटन र कृषिले धेरै योगदान दिएकाले यसका विकास आवश्यक रहेको बताउनु भयो । ‘सरकारले पर्यटन वर्ष २०२० मनाइ रहदा पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न सके यसबाट राम्रो आम्दानी गर्न सकिन्छ’ पौडेलले भन्नु भयो ‘कृषिलाई आधुनिकीकरण गर्दै धेरै पर्यटक भित्राउन सकेमा आर्थिक उपलब्धी हासिल गर्न सकिन्छ ।’
पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारको ध्यान गएको भन्दै उहाले चितवनको मेघौलीमा निर्माण हुन लागेको राइनो पार्कमा सरकारको लगानी रहको बताउनु भयो । गठन भएको छोटो समयमा पनि प्रदेश सरकारको उपस्थिति १३ वटा जिल्लाको टोलटोलमा पुगेको बताउनु भयो । उहाले भन्नु भयो ‘गाँउको टोलटोलमा विकासका काममा प्रदेश सरकारको लगानी पुगेको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको पर्यटकीय क्षेत्रको प्रचार गर्न सरकारले ध्यान दिने बताउनु भयो । देवघाट धामलाई हिन्दूहरुले एकपटक दर्शन गर्नै पर्ने स्थानको रुपमा भारतमा प्रचार गर्नु पर्ने बताउनु भयो । कृषिको क्षेत्रमा पनि चितवनले विकास गरेको भन्दै उहाले सामुहिक खेती, आधुनिक खेतीको लागि सरकारको ध्यान गएको बताउनु भयो ।
यसै बीच माडीमा भएको अन्तरक्रिया कार्यत्रममा मुख्यमन्त्री पौडेलले भारतसंग नाका भएको माडीलाई एकीकृत विकासको मोडलमा लैजान सरकार तयार भएको बताउनु भयो । त्यसको लागि स्थानीय सरकार बलियो बन्नु पर्दछ उहाले भन्नु भयो स्थानीय सरकारको अधिकारको लागि आफूले काम गरेको बताउनु भयो ।
विकास भन्नाले पैसा वितरण गरे मात्र हुन्छ भन्ने मान्यतालाई परिवर्तन गरेर प्रदेश सरकारले विकासका नयाँ आयामहरु ल्याउन लागेको जानकारी दिनु भयो । उहाले भन्नु भयो हामी अव पैसा वितरण गर्ने होइन विकासका योजना ल्याउने हो त्यही अनुरुप विकास हुने छ ।
२३ करोडमा राइनो पार्क
चितवनको मेघौलीमा २३ करोड लगानीमा राइनो पार्क बन्ने भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पार्कको शिलान्यास गर्नु भयो । राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा बनाउने तयारी छ । दुई तलामा रहने प्रतिमा पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना छ । भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा दुई करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिनु भयो । पार्कमा घाइते जंगली जनावरहरुको उद्धार र उपचार केन्द्र पनि बनाउने तयारी छ । पार्कको कुल लागत २३ करोड छ ।
यो पार्क निर्माण भएपछि गैडाको मुर्तीबाट जंगली जनावार हेर्न सकिन्छ भने जंगल भित्र बन्ने फलामे पुल माथिबाट बाघ गैडा प्रत्यक्ष देख्न पाइने व्यवस्था मिलाइने छ । यसको लागि डीपीआर निर्माण भइसकेको यसै क्षेत्रका प्रदेश सांसद कृष्ण भुर्तेलले जानकारी दिनु भयो । आफ्नो पहलमा प्रदेश सरकारले राइनो पार्क निर्माणमा बजेट छुट्टाएकाले आउदा दिनमा पनि सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट