चितवन समाचार डटकम,
१९ मंसिर । भरतपुरको गोन्द्राङ ढाटकाण्डमा आरोपित ९ जनाले सफाइ पाएका छन् ।
भरतपुर महानगरपालिकाको वडा नं. ९ गोन्द्राङमा रहेको ढाटमा गएको जेठ ३ गते भएको आगजनीको विषयमा दोषी भएको भन्दै आशंकामा आरोप लगाइएकाहरुको संलग्नता नभएको पाइएपछि सफाइ भएको हो । पूर्वी चितवनका स्थानीयहरु सदरमुकाम भरतपुर आउदा ढाटमा लिने शुल्कका विषयमा लिएर गएको जेठ ३ गते ढाटमा आगजनी भएको थियो । आगजनीमा असइ कल्पना खड्का घाइते हुनु भएको थियो ।
घटनामा दोषी देखिएको भन्दै अमृत भट्टचन र प्रहरी निरिक्षक राजकुमा थापाले अभद्र व्यवहारको विषयमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएका थिए । लामो समयको अनुसन्धानबाट दोषी देखिएको भन्दै आरोप लगाइएकाको संलग्नाता भएको प्रमण नभेटिएकाले आरोपी सबैलाई सफाइ दिएको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा यही मंसिर ४ गते भएको फैसलामा दोषी नदेखिएकाले मद्दामा आरोपित सबैले सफाइ पाएको मुद्दा शाखाका नायव सुब्बा बाबुराम पराजुलीले जानकारी दिनु भयो ।
सफाइ पाउनेहरुमा राजाराम रेग्मी, खिलप्रसाद घिमिरे, कुलप्रसाद शर्मा, गोकर्ण गिरी, रामचन्द्र पाठक, विष्णु लम्साल, सरोज तिमल्सिना, विजय खनाल, विष्णु ढुंगाना रहेका छन् । घटनामा आफ्नो कुनैपनि संलग्नता नभएको र दोष नदेखिदा समेत आरोपमा मुद्दा खेप्नु परेको राजाराम रेग्मीले बताउनु भयो । मुद्दा फैसलाले न्यायको जीत भएको आफूले महसुस गरेको उहाँले बताउनु भयो ।
गत जेठ ३ गते पुर्व पश्चिम राजमार्गको गोद्राङमा रहेको सडक बोर्डको ढाट हटाउनु पर्ने भन्दै स्थानीयको भिडले पोष्टमा आगजनी गरेको थियो । आगजनीबाट डियुटीमा रहनु भएको असइ कल्पना खड्का घाइते हुनु भएको थियो । घाइते खड्काको अवस्था अहिले सामान्य रहेको छ ।


