चितवन समाचारडटकम, १९ मंशिर ।
रत्ननगर महोत्सव–२०७६ ,पौष २५ गते देखि माघ ७ गतेसम्म आयोजना हुने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना एवम् रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सवको दशौं संस्करण हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
स्थानिय टिकौली चौरमा विगत भन्दा परिस्कृत ढंगले महोत्सव गर्न लागिएको मुल समितिका संयोजक एवम् उवासंघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो ।
उद्योग, ब्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित बस्तु एवम् सेवाको परिचय गराउन महोत्सवमा करिव ५ सयवटा स्टल राखिने उहाँले जानकारी दिनुभयो ।
यस पटक भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने हिसावले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको संयोजक रेग्मीले बताउनुभयो । पर्यटकलाई यहाँका स्थलको अवलोकन गर्न हामिले हेलिकप्टरको समेत ब्यवस्थान गर्ने योजना बनाएका छौं, रेग्मीले भन्नुभयो ।
आयोजकले करिव ५ लाखजनाले अवलोकन गर्ने र ५० करोड भन्दा बढीको कारोवार हुने लक्ष्य राखेको छ ।
पत्रकार सम्मलेनमा नगरपालिकाका उपप्रमुख बिमला दुवाडी, संघका पूर्व अध्यक्ष ज्ञानवहादुर बिसुराल लगायत उपस्थित हुनुहुन्थ्यो ।


