चितवन १९ मंसिर । भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार दुईपक्षीय सम्झौता भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीबिच पर्यटन वर्ष २०२० लाई भब्य बनाउन दुबै क्षेत्रको पर्यटन बिकासमा सहकार्य गर्ने सम्झौता भएको हो । दुबैले ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी दुबै क्षेत्रको पर्यटन बिकासमा दुबै स्थानीय तहले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्झौतामा भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच दुबै क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धनका लागि सहयोग गरिने, दुबै स्थानीय तहका पर्यटन क्षेत्रसंग सम्बन्धित सूचना जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको आदान प्रदान गरिने भएको छ ।
त्यस्तै भरतपुर र लुम्बिनी नियमित हवाई सेवा सन्चालन गर्न आवश्यक पहल गरिने, भरतपुर महानगरको एक सडकलाई लुम्बिनी मार्ग र लुम्बिनी साँस्कृतिक नगरपालिकाको एक सडकलाई भरतपुर मार्गका रुपमा नामाकरण गरिने, दुबै पालिकाका सहरहरुलाई सफा सुन्दर स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लास्टिक झोला, सुर्तीजन्य पदार्थ आदि मुक्त क्षेत्र घोषणा गरिने, दुबै नगरपालिकाको बिकासमा अध्ययनहरुबाट प्राप्त सिकाईको आदान प्रदान गरी सफल अभ्यासको अवलम्बन गरिने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन एवं भ्रमण समेतका बिषयहरु संयुक्त रुपमा अगाडि बढाइने उल्लेख छ ।


