चितवन समाचार डटकम,
१४ मङसिर । शल्यचिकित्सा क्षेत्रमा भएका प्रगती र चुनौतीका विषयमा नेपालभरीका शल्यचिकित्सकहरुले छलफल गरेका छन् ।
स्वास्थ्यका क्षेत्रमा विश्वमा आएको परिर्वतन, उपचार पद्धती, पछिल्ला प्रविधिको विषयमा नेपालभरीका चिकित्सकहरु एकै ठाउँमा भेला भइ छलफल गरेका हुन् । चितवनको भरतपुर र नारायणगढमा विहीबारदेखि सुरु भएको शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन शनिबार सकिएको छ ।
‘नेपालमा शल्य चिकित्सामा वर्तमान चुनौती’ विषयमा छलफल भएको थियो । चिकित्सा क्षेत्रको ७० भन्दा धेरै विषयमा कार्यपत्र प्रस्तुत भएको चितवन मेडिकल कलेजका प्रमुख प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानले जानकारी दिनु भयो । ‘विकसित मुलुकमा उपचार पद्धतीमा धेरै परिर्वतन भएको छ, प्रविधि पनि त्यस्तै आइसकेको छ तर हामीले पुरानै माध्यमबाट गर्नु परेको छ ’ उहाले भन्नु भयो । यस्तै विषयमा हामीले छलफल गरेर कसरी रोगलाई निदान गर्ने, नयाँ प्रविधिको विषयमा जानकारी कसरी लिने भन्ने विषयमा एकै स्थानमा बसेर छलफल गरेका थियौ उहाले भन्नु भयो ।
चिकित्सकले गरिरहेको शल्यक्रियाको प्रत्यक्ष रुपमा अन्य चिकित्सकहरुले भिडियो मार्फत जानकारी लिएका थिए । विदेशी चिकित्सकले चितवन मेडिकल कलेजमा हर्निया, पेटको क्यान्सरलगायत रोगको नयाँ प्रविधि मार्फत गरिएको शल्यक्रियाको प्रत्यक्ष रुपमा भिडियो मार्फत जानकारी लिएका थिए ।
सर्जन तथा चितवन मेडिकल कलेजका प्रमुख न्यौपानेले भन्नु भयो ‘चिकित्सा क्षेत्रमा ल्याउने नीति निर्माणको विषयमा राज्यले परामर्श गरे नयाँ प्रविधि ल्याउनको लागि सुझाव दिन हुन्थियो तर नेपालमा यस्तो प्रयास भएको छैन ।’
तीन दिने सम्मेलनमा देशभरका करिब पाँचसय शल्य चिकित्सकहरुको सहभागिता रहेको नेपाल शल्य चिकित्सक समाजका सचिव डा.आशिष पुनले जानकारी दिनु भयो । डाक्टर पुनले भन्नु भयो ‘शल्य चिकित्सामा विदेशमा के भइरहेको छ, कसरी शल्यक्रियाहरु भइरहेका छन, नयाँ–नयाँ उपकरणहरु कस्ता आइरहेका छन् यी सबै कुराको अनुभव आदान प्रदान भएको छ ।’ यस्तो कार्यशालाले चिकित्सकहरुको क्षमता अभिवृद्धिमा मद्धत पुग्ने समाजका चितवन अध्यक्ष डा.विनय ठाकुरले बताउनु भयो ।
कार्यक्रममा सहभागी डाक्टर प्रकाश दाहालले भन्नु भयो ‘यस्तो कार्यक्रम धेरै आवश्यकता छ, पुराना डाक्टरलेको अनुभव, नयाँलाई सिकाइ हुन्छ ।’ समुहमा सिक्ने मौका पाएका छौ, उहाले भन्नु भयो रोवोटको माध्यमबाट विकसित देशमा अप्रेशन भएका छन् तर नेपालमा त्यो भित्रिएको छैन ।’ भेलामा भिडियोबाट हामीले धेरै कुरा सिक्ने मौका पाएका छौ । दुरविनबाट सानो प्वाल पारेर अप्रेसन गर्ने विषयमा सहज तरिकाले सिक्ने मौका पाएका छौ सहभागी दाहालले भन्नु भयो । कोरिया, भारत लगायत १० वटा देशका वरिष्ठ चिकित्सकले पछिल्लो प्रविधिका विषयमा जानकारी दिनु भएको थियो ।


