प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार : ठोस खाना सुरु

काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । उहाँको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा आज आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठिक रहेको बताउनुभयो ।
“प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गौंलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ”, उहाँले सञ्चारकर्मीलाई भन्नुभयो, “घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो”, निजी चिकित्सक डा शाहले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट