जनकपुर १२ मंसिर । महोत्तरीको पिपरा गाउपालिकामा आज अपरान्हमा वम विस्फोट भएको छ । पालिकाको वडा नं. ४ मा रिक्त रहेको वडा अध्यक्षमा उपनिर्वाचन हुन लागेको छ । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले वम विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
उपनिर्वाचनमा नेकपाको तर्फबाट अध्यक्षको उमेदवारी दिनु भएका विक्रम चौधरीको घरमा वम विस्फोट भएको छ । विस्फोटबाट चौधरीको घरको पछाडिको भागमा क्षती पुगेको छ । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सोही घरमा चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालयसमेत संचालन गरेका थिए । ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको हो ।
विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोट भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिनु भयो । विभिन्न कारणले रिक्त रहेको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा, उपमहानगरपालिका प्रमुख, वडा अध्यक्ष गरी ५२ स्थानमा आउदो १४ गते शनिबार निर्वाचन हुदैछ । निर्वाचन हुन नदिनको लागि यस्ता विस्फोटका गतिविधि भएको छ । चितवनको मंगलपुरमा पनि वम जस्तै खालको विस्फोट पदार्थ आज विहान पट्को थियो ।


