चुनाबी घोषणापत्र ज्यादै महत्वकाक्षी सबै पूरा हुदैनन् : पाण्डे

चितवन ८ मंसिर । पूर्वअर्थमन्त्री तथा नेकपाका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले नेकपाको चुनावी घोषणापत्र ज्यादै महत्वाकांक्षी भएको हुनाले सबै पूरा हुन नसक्ने बताउनु भएको छ ।
पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको संसादसँग संवाद कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुनावी घोषणापत्रमा लेखिएअनुसार आधा काम भयो भनेमात्र पनि ठूलो उपलव्धि मान्नुपर्छ ।’ कुनै अध्ययन बिना हतारमा घोषणापत्र लेखिएको हुनाले पूरा हुन नसक्ने उहाँको भनाइ थियो ।
पत्रकारसँग उहाँले भन्नुभयो, ‘चुनावी नारा तोडेर, विकासको नारा घोषणा पत्रमा लेखिनु सकारात्मक हो, तर बोलेजस्तो काम हुन सक्दैन, किनकी हाम्रो क्षमता नै कमजोर छ ।’ उहाँले अध्ययनबिना बोल्ने र लेख्ने गर्दा समस्या भएको बताउनुभयो । नेता पाण्डेले भन्नुभयो, ‘नेता, पत्रकार, लेखक, कर्मचारी, सबैको क्षमता कमजोर छ, अध्ययन पुगेकै छैन ।’
उहाँले विभिन्न उदाहारण दिँदै अध्ययन बिना योजना बनाएर कति योजनाहरु फेल खाएको बताउनुभयो । सीमा समस्याको विषयमाथि पत्रकारहरुबाट आएको जिज्ञासामा नेता पाण्डेले सबै मिलेर सीमा रक्षा गर्नुपर्छ, कसैलाई गाली गरेर मात्र समस्या समाधान नहुने बताए ।
प्रधानमन्त्री छान्ने अधिकार प्रधानमन्त्रीमा निहीत हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले जसलाई अनुकुल देख्नुभयो, उसैलाई मन्त्री बनाउनुभएको बताउनुभयो ।
मन्त्री हुनकै लागि मात्र आफू कुनै मन्त्रालयमा नजाने बताउँदै भन्नुभयो, ‘कुनै मन्त्रालयमा जानु भनेको मन्त्री हुनको लागि मात्र होइन, काम गर्न जाने हो । अहिले मेरो लागि त्यो परिस्थिति बनेन भनौँ ।’ काम हुनै नसक्ने मन्त्रालयमा आफू जान नचाहेको उहाँको भनाइ थियो ।
चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका नेता पाण्डेले भन्नुभयो, ‘अहिलेको सरकारले एक इन्च भूमि पनि अरुलाई दिने छैनौँ भनेर भनिसकेको छ, अघिल्लो सरकारको पालामा यति पनि भन्ने आँट गर्दैनथे ।’ उहाँले वार्ता गरेर भारतसँग सीमा विवाद समाधान गर्नुपर्छ, सबै पार्टी एक ढिक्का हुनुपर्छ, भूमि फिर्ता नगरी भारतले सुखै पाउँदैन ।
नेता पाण्डेले आफू सिंगो चितवनको विकासमा लागेको बताउँदै चितवन क्षेत्र नं १ मा भएका विकास निर्माणका गतिविधिबारे प्रष्ट पार्नु भएको थियो ।
नेता पाण्डेले सौराहादेखि गोलाघाटसम्मको राप्ती तटबन्धको काम अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भण्डारा मलेखु सडक अघि बढेको छ, सौराहामा बन्न लागेको सभागृहको ठेक्का लागिसकेको छ । बकुलहर फिस्लिङको बाटो पनि बनिरहेको छ ।’ नेता पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्र र पूर्वी चितवन रिङरोडको काम पनि अघि बढ्ने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट