प्रधानमन्त्रीको सोच : सरकार सफल मन्त्री असफल

काठमाडौ ५ मंसिर । राज्यमन्त्रीसहित सात मन्त्री हटाएर प्रधानमन्त्री केपी ओलीले सरकारमा नौ मन्त्री भित्र्याएका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा नयाँ ६ मन्त्री र तीन राज्यमन्त्री छन् । बुधबार राति राष्ट्रपति कार्यालयमा पठाइएको सूचीअनुसार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ मन्त्री बनेका छन् । त्यस्तै, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्रीमा छानिएका छन् ।

त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा पाएका छन् । तत्कालीन एमालेको सूर्य चुनाव चिह्न लिएर उनी प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका थिए । घनश्याम भुसालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मा पाएका छन् भने लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ । भुसाल पूर्वएमाले र भट्ट पूर्वमाओवादी समूहका नेता हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामेश्वर राय यादवलाई दिइएको छ । कांग्रेस प्रवेश गर्नुअघि विजयकुमार गच्छदारको पार्टीमा रहेका यादवलाई पछि प्रचण्डले माओवादी केन्द्रमा भित्र्याएका थिए ।

वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । पार्वत गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् । मन्त्रीमा सिफारिस गरिएका भुसाल, नेम्वाङ, भट्ट र त्रिपाठी मात्रै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यस्तै, व्यावसायिक घरानाका मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् । नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । दुई मन्त्रीको मन्त्रालय हेरफेरसमेत भएको छ । उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै, कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा सारिएको छ ।

बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण राखिएको छ । ‘प्रधानमन्त्रीका तर्फबाट नयाँ मन्त्रीहरूको सूचीसहित राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

मन्त्री पद गुमेका सात मन्त्रीमा चार पूर्वएमाले र तीन पूर्वमाओवादी समूहका छन् । हटाइएका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा एमाले कोटामा मन्त्री बनेका थिए । त्यस्तै, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी पूर्वमाओवादी कोटामा मन्त्री भएका थिए । उनीहरूलाई कार्य सम्पादन मूल्यांकनका आधारमा हटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

केपी ओली ३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो आठौँपटक हो । ०७४ मा १४ फागुन र २ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । ०७५ मा १८ जेठ, १८ साउन, १६ फागुन र १५ साउनमा विस्तार गरेका थिए ।

आजको नयाँ पत्रीकामा प्रकाशित

शेयर गरौ

ताजा अपडेट