चितवन २० कात्तिक । चितवनको कुखुरामा वर्डफ्लु नभइ सिजनल रुघाको समस्या आएको राष्ट्रिय पन्छी रोग अन्वेशषण प्रयोगशालाले जानकारी दिएको छ ।
चितवनको कुखुरामा वर्डफ्लु रोग लागेको भनी हल्ला आएको भन्दै प्रयोगशालाले यस्तो जानकारी दिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेशषण प्रयोगशाला चितवनका प्रमुख डाक्टर चेतनारायण खरेलले भन्नु भयो ‘कुखुरामा लाग्ने सामान्य एच नाइन रोग लागेको हो वर्डफ्लु आएको होइन ।’ जिल्लाका केही सञ्चार माध्यम र जनमानसमा रोग आयो भन्ने हल्ला चलेको रहेछ त्यस्तो होइन उहाले भन्नु भयो । कार्यालयमा गएको साउनदेखि अहिलेसम्म १४६ वटा कुखुरामा रोग परीक्षण गरेकोमा २ वटामा मात्र एच नाइन समस्या देखिएको हो डाक्टर खरेलले भन्नु भयो ‘यो समस्या सामान्य हो मानिसमा असर गर्दैन ।’
प्रयोगशालाका सुचना अधिकारी पशु चिकित्सक इन्दुराय यादवले भन्नु भयो ‘आर्थिक वर्ष २०७५÷७६ मा १४६ वटा परीक्षण गरेकोमा १२१ वटामा मात्र एच नाइन समस्या देखिएको थियो ।’ वर्डफ्लु हुनको लागि एच फाइभ एन वान हुनु पर्दछ त्यस्तो समस्या यहाँ देखिएको छैन उहाले भन्नु भयो । सामान्य फ्लुको कारण यस वर्ष केही कुखुरा मरेका हुन ठुलो क्षती भएको छैन उहाले भन्नु भयो ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाइले भन्नु भयो ‘वर्डफ्लुको समस्या चितवन देखिएको छैन ।’ केही व्यक्तिले हल्ला मच्चाएको मात्र हो कुखुरामा लाग्ने सामान्य फ्लुको कारण केही कुखुरा मरेका छन् । अहिले त्यो नियन्त्रण भइसकेको छ उहाले भन्नु भयो । वर्डफ्लु लागेको भएपनि यस बारेमा जिल्लाका अधिकारीले पहिलो सूचना दिन मिल्दैन । केन्द्रले जानकारी दिने हो उहाले भन्नु भयो चितवनमा अहिले कुखुरामा समस्या छैन ।
वर्डफ्लु रोग आएको भन्दै यहा चर्चा चलेको थियो । कुखुरा पालक किसानले पनि यहाँ ठुलो महामारी नआएको बताएका छन् । गत वर्ष मात्रै हेटौडाका कुखुरामा वर्डफ्लु रोग आएको थियो । चितवनमा भने दुइ वर्ष अगाडि मात्र वर्डफ्लु देखिएको प्रयोगशालाले जानकारी दिएको छ । चितवनमा रहेको प्रयोगशाला प्राथमिक तहको परीक्षण गर्ने केन्द्रीय प्रयोगशाला हो । यहाँ प्रारम्भिक परीक्षण गरेपछि समस्या देखिए केन्द्रीय प्रयोग शाला काठमाण्डौमा पठाउने गरिएको प्रमुख डाक्टर खरेलले जानकारी दिनु भयो । वर्डफ्लु रोग लागेपनि चितवनबाट घोषणा गर्न मिल्दैन ।


