चितवन, २० कार्तिक । मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज विहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।
यस्तै आज नै पूर्वीचितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयले उद्घाटन गर्नु भयो ।
चितवनमा तीन वटा वडामा उपनिर्वाचन हुदैछ । भरतपुर महानगरपालिका वडा नं १६ को अध्यक्ष, खैरहनी नगरपालिकाको वडा नं .४ र ५ को वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार दुइवटा स्थानीय तहको तीन वटा वडामा १३ हजार २८४ जना मतदाता सख्या रहेका छन् ।


