काठमाडौ १८ कार्तिक । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासका अभियुक्त निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालतका एक नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी उक्त आदेश दिएको हो । आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ ।
उक्त आदेश चित्त नबुझेमा महरा उच्च अदालत जान पाउनेछन्। तर मुद्दा किनारा नलागुन्जेल उनी थुनामै रहने छन्। महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सविता भण्डारी बराल, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए।आइतबारबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको थियो।
संसद सचिवालयकी एक महिला कर्मचारी माथि बलात्कारकाे प्रयास गरेकाे आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


