आलम माथी मुद्दा दर्ता : ज्यूँदो मान्छे जलाएको अभियोग

रौतहट, १८ कार्तिक । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमले दर्जन बढी ज्यूँदो मान्छेलाई इँटाभट्टामा जलाएको अभियोगसहित सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले उनलाई जन्म कैद माग गर्दै मुद्दा दर्ता गरेको हो । आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने जनाइएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र ज्यूँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इँट्टाभट्टाको चिम्नीमा ज्यूँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो ।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विष्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीन वटै कसूरमा सजाय माग दावी गरेको छ ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साहसमेत विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पूजी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।

त्यस्तै घाइते सफी अहमद र गौरीशंकर राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न मागदावी गरिएको छ ।

मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ज्यान मार्ने उद्योग गर्नेलाई ५ देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यही कसूरमा मुलुकी अपराध संहिताले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

त्यस्तै सरकारी वकिल कार्यालयले घाइतेहरुलाई ज्यूँदै जलाएको अभियोगमा मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १ र १३ (१) अनुसार र मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार कारबाही गर्न माग गरिएको छ । यो कसूरमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ ।

शेयर गरौ

ताजा अपडेट