काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरिएको थियो ।
उपचारको क्रममा क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। केही समयअघि मात्र अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको थियो। ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओली यस ग्रान्डी इन्टरनेशनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथ उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो’, विज्ञप्तिमा भनिएको थियो, ‘हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। यस अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलासिस गरिएको छ।’
विज्ञप्तिमा आजै डिस्चार्ज हुने जानकारीसमेत गराइएको थियो। विज्ञप्तिमा मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रन्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्या सिंह शाहले हस्ताक्षर गरेका छन्।


