क्रिकेट रंगशालाको डिपिआर सार्वजनिक

"३० हजार दर्शक अट्ने आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने"

चितवन समाचार डटकम ,
६ कात्तिक । भरतपुर महानगरपालिकामा बन्ने गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत विवरण परियोजना (डिपिआर) सार्वजनिक गरिएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माणको जिम्मा लिएको रंगशालाको डिपिआर आठ महिनापछि सार्वजनिक गरिएको हो । गएको वर्ष माघ महिनामा निर्माणको घोषणा भएको रंगशालाको अहिले आएर डिपिआर निर्माण भएर सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकामा वुधबार आयोजना गरेको कार्यक्रममा फाउण्डेशनले जिम्मा दिएको परामर्शदाताले रंगशालाको सबै विवरण जानकारी गराएको थियो । नेपालको गौरव र गरिमामय योजनाको रुपमा लिएको यो रंगशाला निर्माणमा विभिन्न अवरोध आएपनि डिपिआर बनिसकेकाले अव निर्माण हुनेमा ढुक्क भएको फाउण्डेशनले जानकारी दिएको छ ।
३ अर्व लागतमा निर्माण हुने कमलको फूल आकारको संरचनाको लागि भ्याट बाहेक २ अर्व ६० करोडको लागतमा निर्माण हुने गरी परियोजनाको विवरण सार्वजनिक गरेको फाउडेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिनु भयो । अमेरिका, भारत र नेपाली इन्जिनियरको परामर्शमा डिपिआर निर्माण गरेको उहाले बताउनु भयो ।
रंगशालाको मुल संरचना क्रिकेट रहनेछ । जसमा ३० हजार दर्शक अट्ने क्षमताको भवन निर्माण हुनेछ । अगाडि गौतमबुद्धको ठुलो आकारको मुर्ती निर्माण गरिनेछ, नेपाली शैली झल्कने मुल गेट रहनेछ भने भित्री संरचनामा पनि नेपाली पन देखिनेछ । सञ्चारकर्मी, भिआइपीहरु, क्रिकेट खेलाडीको लागि अलगै संरचना निर्माण गरिनेछ । पानीमा कमलको फूल रहेको जस्तै देखिने गरि रंगशाला निर्माण गरिने धुर्मुसले बताउनु भयो ।
फुटबल रंगशाला, पौडी पोखरी, पार्किङ, सुरक्षा व्यवस्थासहित पछिल्लो प्रविधिको उपयोग गर्ने गरी डिपिआर निर्माण गरिएको परामर्शदाताको तर्फबाट शेरबहादुर केसीले जानकारी दिनु भयो । डिपिआर निर्माणको लागि क्रियटिभ डिजाइन आर्किटेक प्रालिले जिम्मा लिएको थियो ।
रंगशाला निर्माणका लागि तयार भएको डिपिआरले नयाँ उर्जा मिलेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनु भयो । रंगशाला निर्माण हुदैनकी भन्ने शंका भए त्यसलाई हटाइदिन उहाले अनुरोध गर्नु भयो । सार्वजनिक कार्यक्रममा प्रदेश सभा सांसद, जिल्लाका पालिका प्रमुखहरु, उद्योगी व्यवसायी, सहयोगीहरुले रंगाशाला निर्माणमा जनता, सरकार सबैको साथ र सहयोग आवश्यकता रहेकोमा जोड दिनु भएको थियो । रंगशाला निर्माणको लागि निर्माण व्यवसायी संघको तर्फबाट १० लाख रुपैया सहयोग गरेको चेक फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई संघका अध्यक्ष उमाकान्त कडेलले हस्तान्तरण गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट