जिउदै हत्याको आरोप लागेका सांसद आलमलाई वयानका लागि पाँच दिन म्याद थप

रौतहट, ३ कार्तिक । रौतहट जिल्ला अदालतले विष्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आलममाथि अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।

सांसद आलमलाई पहिलो संविधानसभाको निर्वाचनको क्रममा २०६४ चैत २७ गतेको बम काण्ड र त्यसका घाइतेको हत्याको मुख्य आरोपी ठहर गर्दै प्रहरीले असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

सांसद आलमलाई यसअघि जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । ७ दिनको म्याद सकिएपछि आइतबार अदालतले म्याद थप गरेको हो । यसअघि प्रहरीले उनलाई दुई पटक अदालत उपस्थित गराए पनि उनले बयान दिन मानेका थिएनन् ।

शेयर गरौ

ताजा अपडेट