चितवन १२ असोज । साउनदेखि तलव नपाएको भन्दै भरतपुर अस्पतालका कर्मचारी आजबाट पुन आन्दोलनमा उत्रेका छन् ।
पहिलो चरणको आन्दोलनमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले असोज २ गतेसम्मलाई समय मागेपछि आन्दोलन स्थगित गरेका थिए । कर्मचारीको माग प्रशासनले सुनुवाइ नगरेको भन्दै आजबाट पुन आन्दोलनमा उत्रेको कर्मचारीले जानकारी दिएका छन् ।
उनीहरुले तलब, भत्ता पाउनु पर्ने लगायतका ११ बँुदे माग राख्दै आन्दोलनमा उत्रेका हुन् । यसअघि अस्पताल प्रशासनसँग भएको सहमति कार्यान्वयनका लागि ८ दिनको समय उपलव्ध गराएपनि माग पूरा नभएपछि पुनः आन्दोलित हुनु परेको अस्पताल विकास समिति कर्मचारी यूनियन भरतपुर अस्पताल इकाइ समितिका अध्यक्ष चन्द्रमणी बस्यालले जानकारी दिनु भयो ।
आन्दोलनपछि नेपाल सरकारको प्रचलित तलब स्केल र चाडपर्व भत्ता उपलव्ध गराउने लिखित सहमति भएपछि यसअघिको आन्दोलन स्थगित गरी कर्मचारी काममा फर्किएका थिए ।
कर्मचारीहरुले कार्य क्षेत्रबाट बाहिर निस्किएर अस्पताल परिसरमा धर्ना दिइरहेका छन् । उनीहरुले साउनदेखि करार नवीकरण नभएको र तलब नपाउँदा समस्या परेको गुनासो गरेका छन् ।
अस्पताल विकास समिति कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष संजय बरालले देशभरका अन्य अस्पतालका कर्मचारीले तलब, भत्ता पाइसकेको अवस्थामा भरतपुर अस्पताल प्रशासनले आफूहरुलाई अन्याय गरेको बताए । हिजो खाइरहेको तलब भत्ता नदिएर प्रशासनले दादागिरी देखाएको उनले बताए । देशभर २ हजार ५ सयदेखि ३ हजार विकास समिति अन्तर्गतका कर्मचारी रहेको र भरतपुर अस्पतालमा ५ सय ७५ जना कर्मचारीले तलब नपाएको उनको भनाई छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले आफू कर्मचारीहरुको मागबारे गम्भीर रहेको बताए । उनले भने, ‘अस्पताल विकास समिति गठन नहुँदा समस्या परेको हो, विकास समिति अन्तर्गतका ४ सय ८ जना कर्मचारीमध्ये २ सय ६ जनाको तलब तत्कालै दिने निर्णय गरिसकेको छ ।’ छलफल भइरहेकाले चाँडै नै समस्या समाधान हुने मेसु तिवारीले विश्वास व्यक्त गरे ।


