काठमाडौं, ११ असोज । आज देशभर मौसम बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जानकारी गराएका छन् ।
हिजो–अस्तीको भन्दा मनसुन थप सक्रिय भएकाले देशभरकै आकाशमा बादल लाग्ने र धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि लगातार पानी पर्ने सम्भावना भने नभएको उनले बताएकी छन् ।
पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उनले बताएकी छन् । यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उनले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन कँडेलले सुझाव दिएकी छन् ।
बर्षाका कारण सडक क्षेत्रमा पहिरो समेत जान सक्ने भएकाले दशैंका लागि घर जाने–आउनेहरुलाई सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । मनसुनको सक्रियता हेर्दा यस वर्ष दशैंमा झरी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
साविकअनुसार यस वर्षको मनसुनको समय अवधि तीन दिनअघि नै सकिएको छ । तर, मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन् ।
सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो शुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ ।


