नौबिसे–कलङ्की सडक खण्डको सवारी जाम तत्काल हटाउन गृहमन्त्रीको निर्देशन

"यात्रु कम्तिमा नौ घण्टा लगाएर यो सडक पार गर्न बाध्य "

काठमाडौं, १० असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नौबिसे–कलङ्की सडक खण्डको सवारी जाम तत्काल हटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई आज निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका हुन् ।

उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला तथा मालबाहक सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन, आवश्यक क्रेनको व्यवस्था मिलाउन समेत निर्देशन दिएका हुन् । जाममा परेका बिमारीहरुको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए ।

चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै निगरानी र कारबाही अघि बढाउन सचेत गराएका छन् । उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए।

बैठकमा सरकारी अधिकारीहरुले बिहीबारको तुलनामा शुक्रबार केही सहज रहेको जानकारी दिँदै थप सहजताका लागि प्रयास भइरहेको जानकारी दिएका छन् ।
यस्तो छ नौबिसको जाम
नौबिसे सडक खण्ड शुक्रबार दिउँसोबाट केही हदसम्म खुलेको छ । तर जताततै बिग्रिएका सडकका कारण कुनै पनि बेला जाम बढ्न सक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी जाम हुनुको मुख्य कारण बिग्रेको सडक नै भएको बताउँछ । ‘जताततै सडक भत्केको छ । खाल्डाखुल्डी पनि यहिबेला पुर्न थालिएको छ । जसले गर्दा सडक हिलाम्य भएको छ,’ ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी इन्सपेक्टर रुकबहादुर खड्काले भने ।

शेयर गरौ

ताजा अपडेट