काठमाण्डौं ९ असोज । सरकारले प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ।
सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ। तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो।
प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ। चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ। विनाकुनै कारण उनको भ्रमण अस्वीकृत भएपछि गृह मन्त्रालयका अधिकारीले आश्चर्य मानेका छन् ।
आइजिपीलाई थाहै नदिई एआइजी सरुवा
मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआइजीहरूको सरुवासमेत गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरिएको छ। उनलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने गरी मुख्यालयमा सरुवा गरिएको हो। त्यस्तै, मुख्यालयका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
हाल नेपाल प्रहरीमा तीन मात्र एआइजी छन्। अर्का एआइजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ। प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा आर्थिक अनियमितताको उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि उनलाई जिम्मेवारी दिइएको छैन।
स्रोतका अनुसार एआइजी सरुवाबारे प्रहरी महानिरीक्षक मात्र नभई गृह मन्त्रालयका अधिकारीलाई समेत जानकारी थिएन। सामान्यतया यस्ता सरुवामा प्रहरी प्रधान कार्यालय हुँदै गृहले मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि निर्णय हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा प्रहरीका एआइजीको सरुवा भएको स्रोत बताउँछ। ‘प्रहरी मुख्यालय कमजोर भएको बुझाइका आधारमा एआइजी पुष्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको सुनिन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसले सरकार प्रहरी महानिरीक्षकको कार्यशैलीसँग खुसी छैन भन्ने देखाउँछ।’
नयाँ पत्रिका दैनिकबाट


