काठमाडौं, ७ असोज :
काठमाडौंमा जारी १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज भुटान र माल्दिभ्स भिड्दैछन् ।
खेल सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलबाट समूह ‘ए’को तेस्रो टोली नेपालको पनि ‘भाग्य फैसला’ हुनेछ । नेपाललाई ३–० ले हराएको भुटान यो समूहबाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलपछि माल्दिभ्स वा नेपालमध्ये अर्को एक टोलीले सेमिफाइनलमा ठाउँ बनाउनेछ ।
आज माल्दिभ्स ४ गोलको अन्तरमा पराजित भए नेपालको भाग्य चम्किनेछ । यो खेलमा माल्दिभ्सको जित, बराबरी वा ३ गोलभन्दा कम अन्तरको हारले भने दुईपटकको च्याम्पियन नेपालको झिनो सम्भावनामा पूर्णविराम लाग्नेछ । तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपको अर्को समूहबाट बंगलादेश सेमिफाइनलमा पुगिसकेको छ ।
सोमबारको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश दुई खेलबाट ४ अंक जोड्दै अन्तिम चारमा पुगेको हो । यसअघि, पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० ले हराएको थियो । यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो भारत र श्रीलंकाबीच बुधबार हुने खेलबाट लाग्नेछ ।


