काठमाडौं, ६ असोज :
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको आधार निर्माण गर्न पार्टीभित्र वैचारिक स्पष्टताको आवश्यकतामा जोड दिनुभएको छ । अध्यक्ष दाहालले वैचारिक स्पष्टता र त्यसअनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या नभए पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने स्पष्ट पार्नुभयो ।
नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौँ स्मृति दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले देशलाई समाजवादको बाटोमा अघि बढाउन एउटा फौजी आन्दोलन आवश्यकता रहेको बताउनुभयो । ‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन । त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वी युरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ ।’
अध्यक्ष दाहालले समाजवादको आधार निर्माणका लागि कुरा होइन, कामै गरेर देखाउने बेला आएको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले महिला नेतृ सहाना प्रधानको सपनालाई पूरा गर्न पार्टीभित्र महिला समानताको पक्षमा अझै लडाइँ गर्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीको संरचनामा पनि महिलाहरुको समान सहभागिता गराएर मात्रै नेतृ प्रधानको सपनालाई साकार पार्न सकिने उहाँको भनाइ थियो । तत्कालीन नेकपा एमालेकी नेतृ प्रधानले नेपालको महिला आन्दोलन, नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा महत्पूर्ण योगदान पुर्याउनु भएको थियो ।


