चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ नेपाल आउँदै

काठमाडौं, ६ असोज :

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आज (सोमबार) नेपाल आउँदै छन् ।

आज काठमाडौंमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टकाे अन्तरक्रियाका लागि सोङ आउने भएका हुन्। उनी थाइल्यान्डबाट आज दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल ओर्लने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा सोङ नेपाल आउन लागेका हुन्। साँझ ५ बजे सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच अन्तरक्रिया सुरु हुने रिजालले जानकारी दिए।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन्। सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलो पटक यो स्तरको वैचारिक छलफल हुन लागेको हो।

यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपाली चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो। कुनै आकस्मिक परिवर्तन भएन भने राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ।

२३ वर्षपछि चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्न लागेका हुन्, जसलाई एउटा ऐतिहासिक अवसर मानिएको छ ।

शेयर गरौ

ताजा अपडेट