चितवन समाचारडटकम, ३१ भदौ ।
भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई जनप्रतिनिधीहरुले महानगरका सबै क्षेत्रमा पुग्नेगरी सेवा बढाउन सुझाव दिएका छन् । बोर्डको १२ औं बार्षिकोत्सवका अबसरमा मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा जनप्रतिनिधीहरुले यस्तो सुझाव राखेका हुन् ।
बोर्डले हाल भरतपुर महानगरको १ देखि १६ र २२ नम्वर वडामा खानेपानी बितरण गर्दै आएको छ । बोर्डका अनुसार महानगरका ४४ प्रतिशत जनताले यसको सेवाबाट लाभान्वित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एवम् कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले महानगरका सबै वडाहरुमा सेवा बिस्तार गर्न सुझाव दिनुभयो ।
भरतपुर महानगरको सुगम तथा दुगर्म सबै भेगमा खानेपानी बितरणको सेवा पुर्याउन उहाँले बोर्डको ध्यानाकर्षण गराउनुभयो ।
‘प्राकृतिक स्रोतको अन्तरपुस्ता समन्वयिक प्रयोगका आधारमा सबै भेगमा सेवा पुर्याउँ, स्वच्छ खानेपानी जनताको मौलिक अधिकार पनि हो’ पोखरेलले भन्नुभयो ।
समिति सभापति पोखरेलले संसारमा ३ प्रतिशत पानी मात्र पिउन योग्य रहेको अवस्थामा यस्लाई भावी पुस्ता सम्म ब्यबस्थित वितरण ब्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य रहेको उल्लेख गर्नुभयो । यो चुनौतीलाई सुझवुझपूर्ण ढंगले सामाना गरेर अघिबढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सिमित श्रोत साधनका बाबजुद भरतपुर खानेपानी ब्यबस्थापन बोर्डले सेवा प्रवाह गरेका बताउनुभयो । स्रोत र साधनको बृद्धि गर्दै जनतामा सेवा बिस्तार गर्दै जाने दाहालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बिजय सुवेदी, घनश्याम दाहाल, मिलनबावु श्रेष्ठ, गिता वाग्ले र रिना गुरुङले सेवा बिस्तार संगसंगै गुणस्तरियतामा सदैब सचेत रहन सुझाव दिनुभयो ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले खानेपानी ब्यबस्थापन वोर्ड राजनीति भन्दा उठेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, संघिय खानेपानी तथा ढल बिकास आयोजना कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद काफ्ले, पूर्व वोर्ड सदस्य रामराज पौडेल, उपभोक्ताका तर्फबाट मदन घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।


