काठमाडौं ३१ भदौ । नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो । बिरामीको अत्याधिक चाप हुने सरकारी तथा निजी अस्पतालमा जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज नहुँदा अभाव हुने गरेको छ ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारी अस्पतालमा जीवनरक्षक औषधिहरूको चरम अभाव देखिएको बताए । उनले भने, ‘यसका लागि औषधि व्यवस्था विभागलाई घचघचाइरहेका छौं । विभागले छिटोभन्दा छिटो जीवनरक्षक औषधिका लागि नियम र प्रावधानमा सहजीकरण गर्नुपर्छ ।’
सरकारी अस्पतालमा इन्जेक्सन एट्रोपिन, इन्जेक्सन एड्रेनालिन, इन्जेक्सन सोडियम बाइकार्बोनेट, इन्जेक्सन क्याल्सियम ग्लुकोनेट, इन्जेक्सन पोटासियम क्लोराइड, इन्जेक्सन भिटामिन ‘के’लगायतका अत्यावश्यक जीवनरक्षक औषधिको अभाव देखिएको छ ।
दर्ता प्रक्रिया झन्झटिलो हुँदा बिरामी मारमा
मुख्यतः मुटुको चाल अत्यन्तै कम भएको बेला, शरीरमा क्याल्सियमको मात्रा न्यून भएको बेला र शरीरमा पोटासियमको मात्रा तलमाथि भएको बेला प्रयोग हुने इन्जेक्सनको अभाव भएको हो । यस्तै, विष सेवन गर्नेलाई बचाउन प्रयोग हुने औषधिको पनि अभाव छ भने अत्याधिक एलर्जी भएर शरीरमा गम्भीर समस्या उत्पन्न हुन नदिन प्रयोग हुने औषधिसमेत अभाव भएको चिकित्सकले बताएका छन् ।
विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीका अनुसार जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज बनाउने निर्णय भएको भन्दै कार्यान्वयनमा आउने बताए ।
उनले भने, ‘एक सय एमएल वा सोभन्दा माथिका लार्ज भोलुम प्यारेन्टेरेल्सहरू दर्ता हुने गरेको छ । तर, क्रिटिकल केयरका लागि प्रयोग हुने एक सय एमएल वा सोभन्दा कम भोलुम भएकाहरू दर्ता हुँदैनन् त्यसैले औषधि पैठारीसम्बन्धी नीति सहज बनाउन आवश्यक देखिन्छ ।
विभागले २०७४ सालदेखि हरेक वर्ष जीवनरक्षक औषधिको आयात गर्ने भन्दै निरीक्षण गर्दै आएको छ ।
सरकारले आयातकर्तासँग सोका लागि राजस्वसमेत लिँदै आएको छ । तर, विभागले पैठारी नीति स्पष्ट नभएको भन्दै जीवनरक्षक औषधिहरू दर्ता गर्न मानेको छैन । औषधि आयातकर्ताका अनुसार भारतको फार्मासहिदामको नाम दिँदै भारतको सरकारी अस्पतालहरूमा उत्पादकहरूले आपूर्ति गर्न तोकेको मूल्यलाई नेपालमा सोहीअनुसार विभागले मूल्य निर्धारण गर्दै आएको छ ।
जसको खरिद मूल्य र नियन्त्रित मूल्य लगभग एउटै हुन आउने औषधि आयातकर्ताले जनाएका छन् । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेका कारण जीवनरक्षक औषधिको दर्ता गर्न विभागले अटेरी गरेको औषधि आयातकर्ताले बताउँदै आएका छन् ।
औषधिविज्ञ बाबुराम हुमागाईंले जीवनरक्षक औषधिको विशेष अनुमति दिन सक्ने व्यवस्था औषधि दर्ता नियमावलीमा भए पनि कार्यान्वयन नहुँदा अभाव देखिएको बताए । गत ४ असारमा उपचारमा आवश्यक पर्ने कतिपय जीवनरक्षक औषधि बजारमा उपलब्ध नभएको गुनासो बढ्दै गएपछि विभागले अभाव खड्किएका औषधिको विवरण पठाउन आग्रह गरेको थियो । कुनै पनि औषधि आयातकर्ता परिवर्तन हुँदा नयाँको हकमा पुरानो आयातकर्ताले विभागलाई ‘नो अब्जेक्सन लेटर’ दिनुपर्ने प्रावधान छ ।
अभाव देखिएका जीवनरक्षक औषधि
– इन्जेक्सन एट्रोपिन
– इन्जेक्सन एड्रेनालिन
– इन्जेक्सन सोडियम बाइकार्बोनेट
–इन्जेक्सन क्याल्सियम ग्लुकोनेट
–इन्जेक्सन पोटासियम क्लोराइड
–इन्जेक्सन भिटामिन ‘के’
किन खड्कियो अभाव ?
औषधि व्यवस्था विभागका अनुसार अहिले अभाव देखिएका अधिकांश जीवनरक्षक औषधि भारतस्थित ट्रोइका फर्मास्युटिकल र हिन्दुस्थान मेडिसिन प्राईभेट लिमिटेड,पटना विहारले आयात गर्दै आएका छन् । विभागका अनुसार हाल यिनीहरूको वितरण सुचारु भएको छैन । ट्रोइकाको इम्पोटर परिवर्तन भएका कारण समस्या भएको औषधि व्यवस्था विभागले जनाएको छ ।
यस्तै, विभागका अनुसार हिन्दुस्थान मेडिसिन प्राईभेट लिमिटेड निरीक्षण गर्ने सूचीमा छ । विभागले यीसहित अन्य कम्पनीहरू पनि जीवनरक्षक औषधिहरू आयात गर्न इच्छुक रहेको जनाएको छ ।
सीओपीपी ९सर्टिफिकेट अफ फर्मास्युटिकल प्रोडक्ट० भएका उत्पादकलाई आह्वान गर्ने र फास्ट ट्र्याकबाट औषधि दर्ता गर्ने योजना रहेको औषधि व्यवस्था विभागले जनाएको छ । ती दुई कम्पनीले ‘रिक्वाइरमेन्ट’ पूरा गरेपछि औषधि आयात गर्न दिने र अरू कम्पनी पनि प्रक्रियागत रूपमा थप गर्दै जाने औषधि व्यवस्था विभागको योजना छ ।
आयातकर्ता परिवर्तन गर्दा केही समय समस्या हुने भए पनि अभाव देखिएका जीवनरक्षक औषधि ट्रोइकाको नाममा रजिस्ट्रेसन नभएको ट्रोइका फर्मास्युटिकलले राजधानीलाई जनाएको छ । विभागले आर्थिक वर्ष २०७४÷७५ मा हिन्दुस्थान फर्मास्युटिकल्सलाई निरीक्षण गर्ने निर्णय गरेको थियो । तर, सो फर्मास्युटिकल निरीक्षणका क्रममा फर्मास्युटिकलले असहयोग गरेकाले उसको लाइसेन्स फिर्ता गर्न विभागले पत्राचार गरेको थियो । परीक्षणसम्बन्धी कागजात दिन इन्कार गर्नुले उसले उत्पादन गरेका औषधी गुणस्तरहीन हुन सक्ने आशंका गरिएको छ । जीवनरक्षक औषधिहरू पटके सिफारिसका आधारमा धमाधम ल्याउने गरिएको स्रोतले जनाएको छ ।
राजधानी दैनिक बाट


