नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकास चन्द पक्राउ

"चितवन मेडिकल कलेजमा चर्को शुल्कको विरोधमा आन्दोलन"

चितवन, २५ भदौं । चितवन मेडिकल कलेजमा लिने चर्को शुल्कको विरोधमा आन्दोलन गर्दै आएका प्रतिवन्धीत पार्टी नेकपाका नेता विप्लवका छोरा प्रकास चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालमा तोडफोडमा उत्रन लागेपछि नेत्रविक्रम चन्दका छोरा प्रकास सहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अस्पतालमा चिकित्सा सहित स्वास्थ्यको विभिन्न संकायमा अध्ययन गर्दै आएकाहरुलाई तोकेको भन्दा चर्को शुल्क लिएको भन्दै एक महिनादेखि विद्यार्थी आन्दोलित थिए । चरणवद्ध आन्दालनका क्रममा अस्पताल भित्र पसेर तोडफोड गर्न लागेको भन्दै जिल्ला प्रहरी कार्यालयले आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले भन्नु भयो ‘अस्पताल भित्र तोडफोड गर्ने षडयन्त्र थाहा पाएपछि नियन्त्रणमा लिएका हौ ।’ सेवा अवरुद्ध गर्न खोजेको, अस्पताल तोडफोड गर्न खोजेको, आतंकित गर्न खोजेको अभियोगमा नियन्त्रणमा लिएको हो उहाले भन्नु भयो । अस्पताल परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्वाही अगाडि वढाएको प्रमुख मल्लले जानकारी दिनु भयो । नियन्त्रणमा १० जना पुरुष र ५ जना महिला रहेका छन् ।
उनीहरुले एकमहिनादेखि अस्पतालमा लिने चर्को शुल्कको विरोधमा नारावाजी, प्रदर्शन, धर्ना, भाषण गर्दै आएका थिए । आन्दोलनको नेतृत्व विप्लवका छोरा प्रकास चन्दले गर्दै आएका थिए ।

शेयर गरौ

ताजा अपडेट