वीरगञ्जमा युवती माथी एसिड प्रहार

वीरगञ्ज, २० भदौं । वीरगञ्जको गणेशमान चोकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ ।

विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको संख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तेजाबबाट खातुनको अनुहार, छाती, हात–खुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् ।

शेयर गरौ

ताजा अपडेट