भरतपुरमा डेंगुले दियो तनाव : रोग नियन्त्रण गर्ने सबैको एक स्वर

चितवन १७ भदौ । डेंगु रोगको महामारी फैलिएपछि भरतपुर माहानगरपालिकाले सक्रियता देखाएको छ ।
रोग नियन्त्रण गर्नको लागि आज भरतपुरमा सरोकारवाला संग छलफल गरेर सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ । कार्यक्रममा महामारीको रुपमा फैलन नदिन सबै सरोकारवालाले सक्रियता देखाउने प्रतिवद्धता जनाएका छन् ।
भरतपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको चितवनमा डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकका सहभागीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले डेंगु रोग नियन्त्रणका लागि महानगरले सबै खालका प्रयासहरु अपनाउने बताउनु भयो ।
रोग पहिचानको लागि आवश्यक पर्ने किटको अभाव हुन नदिन महानगरले १ हजार किटको ब्यवस्था गरेको जानकारी दिनु भयो । रोग सार्न सक्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले यसमा सबैको साथ आवश्यक रहेको बताउनु भयो ।
हरेक घर, गाडी ग्यारेज, बसपार्क सबैतिर पुगेर खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
कार्यक्रममा सरुवा रोग नियन्त्रण महाशाखाले ३०० किट उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय हेटौँडाले १२५ किट उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा संघीय सरकार स्वास्थ्य मन्त्रालयका अधिकारी र प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा तीन नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीले देशभर डेंगुको अवस्था र यसको न्यूनीकरणका लागि गर्नु पर्ने पहल र प्रयासका बारेमा विवरण प्रस्तुत गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट