चितवन १४ भदौ । डेंगु रोगको महामारी हुन थालेपछि भरतपुर महनगरपालिकाले आज सचेतना र्याली निकालेको छ ।
भरतपुर महानगरपालिकाको कार्यालयबाट निस्केको र्याली बजार परिक्रमा गरेको थियो । र्यालीमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । महानगरको आयोजनामा भएको कार्यक्रममा डेंगु रोग लाग्नबाट बच्ने उपायको बारेमा जानकारी दिएको थियो ।
डेंगु रोगबाट अहिले चितवनमा करिब ५ सय जना प्रभावित भएका छन । डेंगु र स्क्रब टाइपसबाट ३ जनाको मृत्यु भइसकेको छ ।
र्यालीपछि आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले डेंगु रोग नियन्तत्रणको लागि महानगर प्रतिबद्ध भएको बताउनु भयो । डेंगुबाट बच्नको लागि लार्भा खोज र नष्ट गर भियानमा लाग्न अनुरोध गर्नु भयो।
प्रमुख दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुप हुन नदिने बताउँदै यसको न्यूनिकरणमा महानगर निकै चनाखो रहेको बताउनु भयो । उहाँले हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा डाक्टर भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत रहनु पर्ने बताउनु भयो । आफ्ना घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने, रोग लक्षण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्ने सुझाव दिनु भयो ।
रोग नियन्त्रणका लागि बेलैमा चनाखो नभए महामारीको रुप लिन सक्ने भन्दै उहाँले घरमा पानी जम्ने स्थान पुर्नु पर्ने र भाडाहरु सफा राख्न अनुरोध गर्नु भयो । रोगले महामारीको रुप लिन थालेको भन्दै अहिलेदेखि नियन्त्रणका उपाय अपनाउन नसके नियन्त्रण बाहिर जाने बताउनु भयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै उहाँले यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने समेत बताउनु भयो । उहाँले आफ्नो घर, आँगन, होटल, बसपार्क, गाडी ग्यारेज सबैतिर विशेष निगरानी गरी यस्तो लामखुटे रहने स्थानहरुमा सरसफाई गरी यसलाई हुर्कन नदिन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो ।


