काठमाडौं, १३ भदौ :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सक्ने तयारी गरिएको छ ।
छलफलका लागि तय भएका १४ एजेण्डाको निष्कर्ष निकाल्दै गत असार २२ गतेबाट सुरु भएको बैठक आज सक्ने तयारी भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
राजनीतिक प्रस्तावमाथि शीर्ष नेताहरुको धारणासँगै भ्रातृ एवं शुभेच्छुक संगठनका बिषयमा पनि निचोड निकाल्दै बैठक सक्ने गरी तयारी भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । भ्रातृ संगठनको विधान सम्बन्धी प्रस्तावमा पनि ठोस निष्कर्ष निकाल्ने सो पार्टीले जनाएको छ ।
यसअघि हिजो बसेको बैठकमा सह–महामन्त्री प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा आज शीर्ष नेताहरुले धारणा राखेपछि बाँकी रहेका बिषयका छलफल पनि आजै सक्ने कांग्रेसको तयारी छ ।
कांग्रेसको राजनीतिक प्रस्तावले संवैधानिक निकायहरुमा अनावश्यक दबाव सृजना गरी स्वतन्त्र र निष्पक्ष काम गर्ने अवस्था अन्त्य भएको भन्दै त्यसलाई रोक्न सरकारलाई आग्रह समेत गरेको छ ।


