चितवन समाचार डटकम
११ भदौ ।
डेंगु रोगले चितवन जिल्लामा महामारीको रुप लिदै जान थालेको पाइएको छ । रोग सार्न सक्ने लामखुट्टेको लार्भा खोज र नष्ट पार्ने कामलाई तिब्रता दिन सकिएन भने विकराल रुप लिने स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
डेंगु रोगको कारण जिल्लामा यस वर्ष तीन जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका भेक्ट कन्टोलर रामकुमार केसीले गएको साउन यता तीन जनाको मृत्यु भइसकेको जानकारी दिनु भयो । साउन २३ गते पश्चिम चितवनको शुक्रनगर घर भएकी १६ वर्षीय युवतीको डेंगुको कारण मृत्यु भएको थियो । त्यसपछि साउन ३१ गते नारायणगढ घर भएका ७६ वर्षीय एक वृद्धाको डेंगु र स्क्रपटाइपसको कारण मृत्यु भएको हो । त्यसपछि यही भदौ ७ गते उपचारको लागि रौतहटबाट चितवन आउनु भएका ३४ वर्षीय एक युवकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको भेक्ट कन्टोलर केसीले जानकारी दिनु भयो ।
साउन यता चितवन जिल्लामा ४ सय ३३ जनामा डेंगु रोगको संक्रमण देखा परेको छ । भरतपुरका विभिन्न अस्पतालमा उपचार गराउन आएका १३ सय ५६ जनाको परीक्षणमा ४ सय ३३ जनामा यो रोग देखा परेको भेक्ट कन्टोलर केसीले जानकारी दिनु भयो । ती मध्य भरतपुर महानगरपालिकामा मात्रै २ सय ५३ जना रहेका छन् । डेंगु रोगको संक्रमण सबै भन्दा धेरै भरतपुर महानगरपालिका रहेको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताउनु भयो । महानगरको नारायणगढ र भरतपुर बजार क्षेत्रमा डेंगु रोगको संक्रमण धेरै रहेको छ ।
भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीले भन्नु भयो ‘डेंगु रोगको महामारीको रुपमा चितवन भइसकेको छ, केही महिना अगाडि बाहिरी जिल्लामा थियो अहिले चितवन छ ।’ विगत केही वर्ष यतादेखि चितवन डेंगु रोगको लागि उर्वर क्षेत्रको रुपमा रहेको छ डाक्टर अधिकारीले भन्नु भयो ‘यहाँ देशै भरीका र छिमेकी देशबाट समेत विभिन्न कारणले मानिसको वसोबास छ, यहाँ हुने र बाहिरबाट पानी आउने भएकाले यो रोगको महामारी भएको हो ।’ डेंगु रोग सार्न सक्ने लामखुट्टेको बासस्थान नफालेसम्म यो रोगको संक्रमण बढ्ने उहाले बताउनु भयो । आफ्नो घर वरिपरी पानी जमेका भाडाहरु सफागर्ने, लार्भा नष्ट गर्ने यो कार्य हप्ताको दुइदिन गर्न सकेमा संक्रमणमा कमी आउन सक्ने उहाले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालयका भेक्ट कन्टोलर केसीले भन्नु भयो ‘चितवनमा सन् २००६ मा डेंगु रोग देखा परेको हो, त्यसपछि सन् २०१०बाट यसको संक्रमण वृद्धि भएको छ ।’ हरेक वर्ष रोग देखा पर्ने भएपनि यस वर्ष छिट्टै रोगीको सख्या वृद्धि भएको कार्यालयले जानकारी दिएको छ । विरामीको सख्या वृद्धि भएसंगै रोग पहिचान गर्ने किटको अभाव भएको कार्यालय प्रमुख तिवारीले बताउनु भयो । कार्यालयमा अहिले २५ वटा मात्र किट स्टक रहेको छ ।


