चितवन समाचार डटकम
९ भदौ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाको अभियोग लागेका सञ्चारकर्मीरवि लामिछाने सहित तीन जना धरौटीमा हिरा हुनु भएको छ ।
जिल्ला अदालत चितवनमा दुइदिनदेखि भएको बयान र थुनछेक बहसपछि रवि लामिछानेलाई ५ लाख रुपियाँ, पत्रकार युवराज कडेललाई ३ लाख र स्टाफ नर्स अस्मिता कार्की रुकुलाई साधारण तारेखमा रिहा गरिएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजालसले धरौटी राखेर साधारण तारेखमा रिहा गर्ने आदेश दिएको अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनु भयो ।
प्रहरीले गरेको अनुसन्धानको मिसिल आइतबार सरकारी वकिलको कार्यालयमा पेस गरेपछि अदालतमा मुद्दा दर्ता भएको थियो । आइतबारदेखिनै मुद्दाको विषयमा अभियुक्तसंग वयान लिएको थियो ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गर्नु भएको थियो । प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनिल पोखरेल र राजु थापाले बहस गर्नु भएको थियो । आत्महत्या गर्नु अघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।
मुद्दामा अभियुक्तहरुसँग अदालतले आइतबार र सोमबार गरेर दुई दिनसम्म बयान लिएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान सकिएपछि थुन छेकको लागि मुद्दाको पक्षमा र विपक्षमा वकिलहरुले बहस गर्नु भएको थियो ।
शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनु पर्ने छ ।
साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युबराज कडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरिले अनुसन्धानको लागि हिरासतमा लिएको थियो ।
चितवन जिल्ला अदालतबाट रिहा हुदै गर्दाको भिडियो मात्र चितवन समाचार डटकम अनलाइनमा


