चितवन समाचार डटकम
९ भदौ । पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान आज हुदैछ ।
अभियुक्त तीनजना मध्य अस्मिता (रुकु) कार्कीको मात्र हिजो बयान सकिएपछि बाँकी दुइजनाको आज हुने चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनु भयो । आज हुने बयानपछि अभियुक्तलाई थुनामा राखेर थुन छेकको वहस हुने वा तारेखमा राखेर अदातली प्रकृया अगाडि वढाउने भन्ने टुंगो लाग्न सक्नेछ । आत्महत्या दुरुत्साहन मुद्दा जिल्ला न्यायधिश हेमन्त रावलको इजलासमा परेको छ ।
यसै बीच सञ्चारकर्मी रवि लामिछानेको पक्षमा हिजो भरतपुरमा भएको प्रदर्शनले उग्र रुप लिएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनले ५ जना भन्दा धेरै भेला भएर हिड्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । भरतपुरको सिचाइ रोडदेखि भरतपुर अस्पताल अगाडिसम्मको सडकलाई निषेधाज्ञा जारी गरेको हो । दक्षिणमा सिचाइरोड, उत्तरमा भरतपुर अस्पताल रोड, पश्चिममा चौविसकोठी पूर्वमा वाइपास रोड रहेको छ । यस क्षेत्रमा भेला जुलुस धर्ना केहीगर्न नपाइने जनाइएको छ । हिजो प्रदर्शनकारी र प्रहरी बिच झडप हुदा केही घाइते भएका थिए ।


