चितवन समाचार डटकम
८ भदौ । पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या दुरुत्साहन’ मुद्दाका अभियुक्त टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान भोली (सोमबार) मात्रै हुने भएको छ ।
अनुसन्धान पूरा गरी प्रहरीले मिसिल सरकारी वकिलको कार्यालयमा आज बुझाएपछि त्यसलाई अध्ययन गर्न समय अपुग हुदा भोली मात्र बयान लिने भएको हो । चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले भन्नु भयो ‘समयको अभावले गर्दा रवि लामिछाने र युवराज कडेलको बयान आज लिन सकिएन, उहाहरुको बयान भोली विहान १० बजे हुनेछ ।’
प्रहरीले आज अनुसन्धानको मिसिल बुझाएपछि त्यसलाई अध्ययन गरेर अपरान्ह ३ बजे अभियुक्त मध्य स्टाफ नर्स अस्मिता कार्कीको मात्र बयान लिन सुरु गरेको थियो । उहाको बयान जिल्ला न्यायधिश हेमन्त रावलले लिनु भएको हो । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्सान मुद्दा जिल्ला न्यायाधिश रावलको इजलासमा परेको छ ।
प्रहरीले सरकारी वकिलको कार्यालयमा आइतबार अनुसन्धानको विस्तृत विवरण बुझाएपछि वकिल र न्यायधिसले अध्ययन गर्नु भएको थियो । तिनै जनाको बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ ।
नुवाकोटका पत्रकार पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा लामिछाने, कँडेल र कार्की विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । केन्द्रीय अनुसन्धान व्युरोको टोली जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार विहान बुझाएको थियो । फाइल पाएपछि सरकारी वकिलको कार्यालयले अध्ययन गरी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । पत्रकार पुडासैनी साउन २१ गते राति चितवनको एक होटलमा आत्महत्या गरेको अवस्थमा मृत भेटिएका थिए ।
मृत्युपछि उहाँको मोवाइलमा आत्महत्या गर्नुको कारण उल्लेख गरिएको पुडासैनी आफैले बोलेको भिडियो प्रहरीले फेला पारेको थियो । सोही भिडियो र अनुसन्धानमा रहेका अन्य प्रमाणसहित प्रहरीले लामिछाने, कंडेल र कार्कीलाई काठमाण्डौबाट नियन्त्रणमा लिएर चितवन ल्याएको थियो । चितवन ल्याएपछि रविको समर्थनमा १० दिनदेखि प्रदर्शन भइराखेको छ ।


