दलित समुदायलाई अनिवार्य आरक्षणको आवश्यकता छ: सांसद विश्वकर्मा

 

अमिर रामदाम,
चितवन , ६ भदौ । विधमान अवस्थामा अहिले लोकसेवाको विज्ञापनको विषयमा आरक्षणको कुरा चलिरहँदा समानुपातिक र समावेशिताको आधारमा दलित समुदायको पूर्ण प्रतिनिधित्व रहनेगरी अनिवार्य दलित समुदायहरूलाई आरक्षण आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य माननीय आशा कुमारी विश्वकर्माले जिकिर गर्नुभयो ।
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले नारायणगढ जेसीजको सभाहलमा आयोजना गरेको “सभ्य तीजको लागी हाम्रो भूमिका विषयक अन्तरक्रिया, अग्रज आमाहरुलाई सम्मान एवं रमाईलो तीज विशेष कार्यक्रम” मा सांसद विश्वकर्माले सो कुरा बताएकी हुन् ।
उनले छोरा छोरी बराबर भएकोले छोरीलाई पनि अनिवार्य उच्च शिक्षा सम्म पढाउन सबैमा आग्रह गरेकी छिन् ।
त्यस्तै उनले चाडबाडको नाममा भड्किलो तरिकाले नमनाउन सभ्य तरिकाले मनाउन आग्रह गरिन् ।
उनले सबै मिली जातिय विभेद छाउपडी प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिईन् । आफू महिला भएको कारण छाउपडी प्रथा झेल्नु परेको स्मरण गर्दै विश्वकर्माले यसको अन्त्य गर्न जरुरी रहेको बताईन् । सांसद विश्वकर्माले सबै महिलालाई समावेशिताको आधारमा आफ्नो पहिचान स्थापित गर्न अनुरोध गरिन् ।
कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईलीले छोटो समयमा मञ्चले एकदमै अनुकरणीय कार्य गरेकोमा बधाई एवम् शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले हामी आफैमा विभेद भन्ने मानसिकता हटाउँदै समतामूलक समाज निर्माण गर्न तर्फ लाग्नुपर्ने बताए ।
समाजमा प्रत्यक्ष प्रभाव पार्ने किसिमका राम्रो कार्यहरू गरेकोमा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी विश्वकर्माले बधाई एवम् शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा सभ्य तीजको लागी हाम्रो भूमिका विषयक कार्यपत्र मञ्चका सदस्य एवं महिला समन्वय समिति संयोजक शान्ता थापा विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र उपर टिप्पणी मञ्चका सल्लाहकारद्वय बाबुराम विश्वकर्मा र विजय विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रम मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने मञ्चका सचिव अमिर सुनारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २४ जना जेष्ठ अग्रज आमाहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा मञ्चका महासचिव अमिर रामदामले आगामी दिनमा मञ्चले नेपालको दलित आन्दोलनको अगुवा एवं समाज सुधारक स्व.भगत सर्वजित विश्वकर्माको ईतिहासलाई संरक्षण एवं खोज गर्न भरपूर रूपमा सक्रिय रहने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा, विश्वकर्मा समुदायका ईतिहासकार टेकबहादुर विश्वकर्मा, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका सल्लाहकार संयोजक चित्रबहादुर विश्वकर्मा खाती, सल्लाहकारहरू कमल रामदाम, हेम सेन्चुरी, त्रिलोक भिके, ददिराम रामदाम, तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल गहतराज, गुल्मी चितवन विश्वकर्मा मैत्री समाजको संयोजक युवराज सुनार, सुनचाँदी साकोसको अध्यक्ष बाबुराम रामदाम, सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनका अध्यक्ष रूपा बराली, सुनचाँदी व्यवसायी महिला समूह नगर समिति भरतपुरको अध्यक्ष कमला घताने लगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट