काठमाडौं, ६ भदौं । डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उठेका मकवानपुर भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष जगतमान घिसिङ्गले पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचन जितेर वडाध्यक्ष बनेपछि डिभी चिठ्ठा पाएपछि अमेरिका उडेका उनले इमलेमार्फत राजीनामा पठाएका हुन् । गत चैत महिनामा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन् । तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन् ।
‘वडाध्यक्ष ज्यूले इमेलबाट राजीनामा पत्र पठाउनु भएको छ,’ गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘कुरियरबाट पनि राजीनामा पत्र पठाउनु भएको भन्ने सुनेको छु । आइपुग्न अलि समय लाग्ला ।’
वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेको कुँवरले जानकारी दिएका छन् । ‘घरासयी कारण देखाएर उहाँले राजीनामा माग गर्नु भएको छ,’ उनी भन्छन् ।
गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ । राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो । निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकाले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन ।
‘कुरियर गरेर पठाएको राजीनामा पत्र गाउँपालिकामा प्राप्त भएपछि बैठक बसेर राजीनामा स्वीकृत भएपछि मात्रै पद रिक्त हुन्छ अनि उपनिर्वाचनको कुरा आउँछ,’ उनले भने । घिसिङ अमेरिका उडेपछि वडा कार्यालय पाँच महिनादेखि प्रमुखविहीन छ ।


