रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति

चितवन, ३ भदौ :

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ ।

रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए ।

यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो । यो पटक पनि रविलाई थप पाँच थुनामै राख्ने आदेश भएको हो । मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा लामिछाने अनुसन्धानका लागि पक्राउ परेका थिए ।

पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका थिए ।

गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर लामिछानेसहित तीनैलाई चितवन लगिएको थियो ।

चितवनको नारायणढस्थित पोखरा बसपार्कस्थित होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि पुडासैनीका परिवारले रविसहित तीनैविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

 

शेयर गरौ

ताजा अपडेट