धानबालीमा डडुवा रोगको प्रकोप : रोगबाट बच्ने यस्ता छन् उपाय

चितवन समाचार डटकम
१ भदौ ।

चितवनको धानबालीमा व्याक्टेरियल डडुवा रोगको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन् ।
एक हप्ता अगाडिबाट देखिएको डडुवा रोग अहिले जिल्लाभरी फैलिदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधीर श्रेष्ठले भन्नु भयो ‘सुरुमा पश्चिम चितवनका केही स्थानमा देखिएको यो रोग अहिले जिल्लाभरी फैलिएको छ ।’ यो रोग लागेपछि सुरुमा धानको पातमा पहेलो दाग देखिने बिस्तारै पात सुक्दै गएर मर्ने गर्दछ ।
प्रमुख श्रेष्ठले भन्नु भयो ‘रोग लागेपछि समयमा उपचार नगरे धानको बोटनै मर्दछ ।’ रोगको कारण केही विगाहमा असर परेपनि कती क्षेत्रफलमा यसको प्रकोप फैलिएको भन्ने विषयमा विवरण लिने काम भइराखेको उहाले जानकारी दिनु भयो ।
पूर्वी चितवनको टरौलीका किसान कृष्णमुरारी मिश्रले भन्नु भयो ‘पात डड्ने रोगले धानबाली वर्वाद भएको छ ।’ उहाको जस्तै राप्ती नगरपालिकाका केही वडामा यस रोगको प्रभाव धेरै देखिएको छ । यो रोग चितवनको बालीमा यस वर्ष आएको ज्ञान केन्द्रले जानकारी दिएको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका विभिन्न स्थानमा पात सुक्ने रोगले धानबाली मर्न थालेको कार्यालयले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिकाको मंगलपुर, गीतानगर, चनौली, पार्वतीपुरलगायतको क्षेत्रमा पनि यस रोगको प्रकोप फैलिएको कार्यालयले जानकारी दिएको छ । रोगले धानबालीमा असर पारेपछि ज्ञान केन्द्रको अगुवाइमा बरिष्ठ बालीरोग बिज्ञ प्रा.डा. सुन्दरमान श्रेष्ठ, प्रधानमन्त्री कृषि आ. परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सिना, ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्री, बाली विकास अधिकृत माधव पौडेललगायतले मनुगमन गरेको छ ।

रोग लाग्नुको मुख्य कारण असन्तुलित रासायनिक मलको प्रयोग भएको ज्ञान केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । रोगबाट बच्नको लागि निम्न विषयमा ध्यान दिन केन्द्रले किसानलाई अनुरोध गरेको छ ।
रोगबाट बच्न सकिने उपायहरु
अत्याधिक नाइट्रोजन मलको प्रयोग नगर्ने । रोग लागेको जमीनको पानी बगेर अन्यत्र जान नदिने । खेतमा पानी सुकाउने । गोडमेल गर्ने । खेतलाई झारपात मुक्त राख्ने । आगामी दिनमा मनतातो पानीले बीउ उपचार गरेर मात्र बीउ जमाउने । ब्याक्टेरियानाशक विषाादी स्ट्रेप्टोमाइसीन वा एग्रीमाइसीन वा टेरामाइसीनको सिफारिस गरिएको मात्रा पानीमा मिसाएर छर्ने । त्यसको एक हप्तापछि कपरअक्सिक्लोराइड २ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।

शेयर गरौ

ताजा अपडेट