सरकारी कार्यालयमा अनुगमन : कयौ अनुपस्थित

स्याङजा, २८ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार स्याङ्जा सदरमुकामका २० सरकारी कार्यालयमा एकै पटक छड्के जाँच तथा अनुगमन गरेको छ ।

चार टोली खटाइएको अनुगमनका क्रममा छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर टोलीले प्रशासन कार्यालयमा ल्याएर जाँच गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

छड्केमा परेका कार्यालयका २७४ कर्मचारीमध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरु कार्यालय हाजिरी नभएको भेटिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारीहरु कार्यालयमा भेटिएका थिए ।

अनुगमनका क्रममा जिल्ला अस्पतालमा ८ अधिकृतसहित ३६ जना समयमा नै काममा नजाने गरेको प्रशासनले जनाएको छ । अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर सुशील मरासिनी वैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

डाक्टर मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहेको अस्पताका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिइन् । त्यस्तै आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताइएको छ ।

यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ जना कर्मचारी रहेकोमा ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टिकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पारे ।

कार्यालय छड्केमा पुनर्निर्माणमा ८, डिभिजन वन ७, हुलाकमा ७, सुन्तला जोनमा ६ जना,कृषि ज्ञान केन्द्रमा ५ , भेटनरी अस्पतालमा ३, जिल्ला स्वास्थ्यमा २, कोलेनिकामा १, विद्युतमा १, जलश्रोत तथा सिंचाई विकास डिभिजनमा ४, आयुर्वेदमा २, राष्ट्रिय जिल्ला समन्वयमा ४, शिक्षा विकास तथा समन्वय इकाइमा १ तथा मालपोतमा १ जना कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट