शिक्षा सुधार गर्न चितवनका स्थानीय सरकारले जारी गरे १९ बुँदे घोषणा पत्र

चितवन समाचार डटकम
२७ साउन ।
चितवनको सौराहामा सोमबार भएको सात वटा स्थानीय तहको भेलाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न १९ बुँदे सौराहा घोषणा पत्र जारी गरेका छन ।

चितवनको शैक्षिक गुणस्तर सुधार गर्नको लागि जिल्लाका सात स्थानीय तह एकजुट भएर घोषणा पत्र जारी गरेका हुन् । रत्ननगर नगरपालिकाले आयोजना गरेको शिक्षाको व्यवहारिक तथा कानुनी पक्षमा देखिएका चुनौति र सामधान विषयक कार्यक्रमपछि सात स्थानीय तहले शिक्षाको सुधारको लागि एकजुट हुने निर्णय गरेका हुन । 
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भन्नु भयो ‘जिल्लाको शिक्षाको विकासको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण २०७३ का आधारमा शिक्षा नीति र सोका आधारमा शिक्षा ऐन, नियमावली र कार्यविधि निर्माण गर्ने सहमति भएको छ ।’

सौराहा घोषणापत्र तथा प्रतिबद्धता पत्रमा सात वटै स्थानीय तहले आफ्नो पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत तथा धार्मिक प्रकृतिका विद्यालयको विद्यालयगत अभिलेख (अनुमति, स्वीकृति, दरबन्दी संख्या) व्यवस्थित गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र सहयोगी कर्मचारीको व्यक्तिगत अभिलेख तयार गर्ने सहमति भएको मेयर वनले जानकारी दिनु भयो ।

घोषणापत्रमा करारमा शिक्षक, कर्मचारी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र सहयोगी कर्मचारी नियुक्तिको अनुमति प्रदान गरी अभिलेख राख्ने, स्थानीय शिक्षा ऐन र नियमावलीका आधारमा आफ्नो पालिका भित्र र अन्तर स्थानीय तह तथा अन्तर जिल्ला शिक्षक सरुवा गर्ने, सोको जानकारी सम्बन्धित निकायमा पठाउने, विभिन्न स्रोतबाट गाउँ र नगर शिक्षा कोषमा रकम जम्मा गरी शैक्षिक गुणस्तर र समतामूलक पहुँचका लागि कोष व्यवस्थापनको कार्यविधि निर्माण गरी खर्च गर्ने उल्लेख छ ।

यस्तै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी पुन नक्साङ्कन गरी आवश्यक विद्यालयको संख्या निर्धारण गरी सोही आधारमा विद्यालय गाभ्ने वा थप्ने तथा दरबन्दी मिलान गर्ने, सोको जानकारी सम्बन्धित निकायमा पठाउने, पालिका भित्रका सामुदायिक विद्यालयमा उपलब्ध भएका शिक्षक दरबन्दी विषयगत रुपमा मिलान गर्ने, संस्थागत विद्यालयले प्रदान गर्न पर्ने दश प्रतिशत छात्रवृत्तिलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने स्थानीय तहहरुले सहमति गरेका छन ।

स्थानीय तहभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई विषय र विज्ञताका आधारमा एकभन्दा बढी विद्यालयमा घुम्ती शिक्षकका रुपमा अध्यापन गर्ने व्यवस्था मिलाउने, सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि प्रधानाध्यापकले शिक्षा शाखा प्रमुखसँग शिक्षकले प्रअ सँग वार्षिक रूपमा कार्यसम्पादन करार गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयका स्थायी शिक्षकको असाधारण र अध्ययन विदा तथा राजीनामा स्थानीय तहले स्वीकृत गरी सेवा सुविधाका लागि सम्बन्धित निकायमा लेखी पठाउने । चितवन जिल्लाभरि कक्षा ५ को एउटै सिकाइ उपलब्धि परीक्षा लिने । कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सञ्चालनका लागि जिल्लाभरिको साझा प्रश्न संग्रह तयार पारी उपयोग गर्ने । भरतपुर महानगरपालिका अन्तर्गत चितवन माविको हातामा रहेको साविक शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेशको शिक्षा विकास निर्देशनालय मातहत राखी चितवनका सबै स्थानीय तहका शिक्षक तथा सहयोगी कार्यकर्तालाई तालिम दिने हवका रुपमा विकास गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने घोषणा पत्रमा उल्लेख छ ।

त्यसैगरी सबै स्थानीय तहले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा तथा समुदायमा आधारित बाल विकास केन्द्र र कक्षा १ मा अध्ययनरत बालबालिकालाई आन्तरिक स्रोतबाट क्रमशः दिवा खाजाको व्यवस्था गर्ने । संघीय तथा प्रदेश सरकारबाट विद्यालयको भौतिक निर्माणका लागि प्राप्त हुने सशर्त अनुदान स्थानीय आवश्यकता अनुसार नयाँ भवन निर्माण तथा मर्मतको व्यवस्था गर्न संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने घोषणापत्र मार्फत स्थानीय तहले प्रतिबद्धता जनाएका छन ।
प्रतिबद्धता कार्यान्यनको लागि सम्बन्धितच पालिकामा नगर प्रमुख संयोजक र प्रमुख प्रशासकीय अधिकृत सदस्य र शिक्षा अधिकृत सदस्य सचिव रहेको कार्यदल समेत बनाइएएको छ । कार्यक्रममा शिक्षा विद् डा.विद्यानाथ कोइराला र विज्ञ बैकुण्ठ अर्यालले सामुदायिक विद्यालयका अबस्था र सुधार गर्नुपर्ने पक्षका वारेमा प्रस्तुती दिएका थिए ।

रत्ननगरका मेयर वनको अध्यक्षतामा भएको कार्यक्रममा कालिकाका मेयर खुमनारायण श्रेष्ठ, माडीका मेयर ठाकुर ढकाल, खैरहनीका मेयर लालमणि चौधरी, भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, रत्ननगरकी उपमेयर विमला दुवाडी, राप्तीका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाई, कालिका ६ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विनोद रेग्मी,रत्ननगर १० का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक केशब आचार्य,शिक्षकहरु मदन पुरी,पूर्ण पुरी,कालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी,खैरहनीका शिक्षा अधिकृत महेन्द्र प्रसाद पौडेल,रत्ननगरका शिक्षा अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट