देशभर सामान्य बदली, मनसुनी गतिविधि कमजोर बन्दै

काठमाडौं, २३ साउन :

बिहीबार देशका धेरैजसो भूभागको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका धेरैजसो ठाउँको मौसम बदली हुने र पूर्व मध्य तथा पश्चिमका थोरै चट्याङ्ग सहित पानी पर्ने सम्भावना छ । यस्तै, बिहीबार राति पश्चिमी क्षेत्रको केही भूभागमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) साविकको स्थानबाट दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर बनेको महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको साविकको स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ । यो रेखा उत्तरतर्फ (नेपालतर्फ) सरेपछि नेपालमा मनसुनी गतिविधि बढ्छ । लामो समयसम्म कमजोर बनेको मनसुन केही दिनदेखि सक्रिय हुँदा देशैभर मनसुनी गतिविधि बढेको थियो ।

फेरि मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेपछि मनसुनी गतिविधि कमजोर बन्दै जाने मौसमविदहरुले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट