चितवन २१ साउन । खैरहनी नगरपालिकाले अन्र्तराष्ट्रिय युवा दिवस विविधि कार्यक्रम गरि मनाउने भएको छ ।
यही साउन २७ गते अन्र्तराष्ट्रिय युवा दिवस परेको छ । दिवसको पूर्व सन्ध्यामा नगरपालिकाले मंगलवार नगर भित्रका युवाहरुसंग छलफल गरेको छ । छलफलले दिवसको अवसरमा प्रभातफेरी,रक्तदान,अनाथ आश्रमहरुमा भोजन गराउने कार्यक्रम गर्ने निर्णय गरेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।
दिवसका अवसर पारेर साउन २६ गते मानव सेवा आश्रममा भोजन गराउने,भरतपुर स्थित साहारा नेपाललाई खाद्यान्न सहयोग गर्ने,खैरहनी स्थित आधारतभूत विद्यालय वस्यौलीको विषेश कक्षाका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गर्ने कार्यक्रम तय भएको पौडेलले वताए । रक्तदान कार्यक्रम भने नेपाल रेडक्रस सोसाईटीसंग छलफल पछि मिति तय हुनेछ ।
युवा दिवस मनाउने नगरपालिकाका सामाजिक विकास समिति संयोजक मनेजर महतोको संयोजकत्वमा मुल समारोह समिति समेत वनाईएको स्थानीय शिक्षा अधिकारी पौडेलले वताए । छलफलमा नगरपालिकाले चालु आर्थिक वर्षमा संचालन गर्ने युवा विकास कार्यक्रमहरुको बारे नगर शिक्षा अधिकारी पौडेलले जानकारी गराएका थिए ।
छलफलमा खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो, खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना लगायत नगर भित्र रहेका विभिन्न युवा क्लव,जेसीज लगायतका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । यो वर्ष खैरहनीले नगर युवा क्लव गठन गर्ने,युवासंग मेयर कार्यक्रम,उद्यमी महिलासंग उपमेयर कार्यक्रम,युवाका लागि मागका आधारमा शीप विकास कार्यक्रम,उद्यमी युवा प्रतिभा सम्मान तथा प्रोत्साहन,युवा परामर्श,क्षमता विकास तथा परिचालन लगायतका कार्यक्रम समावेश गरेको छ ।


