चितवन समाचार डटकम
२१ साउन ।
डिभिजन वन कार्यालय चितवनले यस वर्ष एक लाख २० हजार विरुवा निःशुल्क वितरण गरेको छ ।
गएको जेठ २१ देखि अहिलेसम्म वृक्षारोपणको लागि विभिन्न संघसस्था मार्फत एकलाख २० हजार विरुवा वितरण गरेको हो । वितरण गरेको सबै विरुवा रोपिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो । विरुवा वितरण गरेपछि कार्यालयले नियमित अनुगमन गर्दै आएको छ ।
वन कार्यालयमा एक लाख ७० हजार विरुवा तयारी पारिएको थियो । सरकारको नीति वृक्षारोपण गरी हरियाली बनाउने रहेकाले सोही अनुसार काम गरेको डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो । वृक्षारोपण प्रभावकारी भए नभएको विषयमा अनुगमन कार्यलाई निरन्तरता दिएको छ उहाले भन्नु भयो । विरुवाको हेरचाह नगर्नेलाई नियम अनुसार नसियद दिएको कार्यालयले जनाएको छ ।
कार्यालयले यही समयमा गएको वर्ष ३ लाख ५० हजार विरुवा वितरण गरेको थियो । बजेटको अभावमा यस वर्ष विरुवा कम उत्पादन गरेको सहायक वन अधिकृत पौडेलले जानकारी दिनु भयो । यस वर्ष बजेट आएन उहाले भन्नु भयो वातावरण संरक्षण भन्दै स्थानीय तहलाई त्यही बजेट पठाएको छ । तर स्थानीय तहले विरुवा उत्पादन गरेका छैनन् ।
स्थानीय तहमा बजेट गएपनि विरुवा उत्पादन नगर्दा वन कार्यालयलाई त्यसको असर परेको उहाले बताउनु भयो । स्थानीय संघसस्था तथा स्थानीय तहनै वृक्षारोपणका लागि विरुवा माग्न आउने गरेको उहाको भनाइ छ । स्थानीय तह मध्य कालिका नगरपालिकाले भने ५० हजार विरुवा उत्पादन गरेर वृक्षारोपण गरेको छ । अन्य स्थानीय तहले विरुवा खरिद गरी रोपेको छ । कार्यालयका अनुसार भरतपुर हेटौडा २२० केभी विद्युतको लाइनका कारण कटिएको रुखकौ क्षतीपुर्तीको लागि १५ हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ ।
कार्यालयबाट वितरण गरिएको विरुवा ७० प्रतिशत बाँचेको सहायक वन अधिकृत पौडेलले जानकारी दिनु भयो । वन कार्यालयबाट जाने विरुवाहरुमा वकाइनो, सिसौ, टाँकी, जामुन, म्याँगोष्टिक, इपिल, वडहर, वेल, तेजपात, निमलगायत २७ प्रजातिको रहेको छ ।


