तस्करिको नयाँ तरिका : हेलमेट भित्र १५ किलो चादी

महोत्तरी, २० साउन । सुरक्षाकर्मीले तस्करविरुद्ध कडाइ गर्न थालेपछि तस्करहरुले पनि नयाँ नयाँ तरिका अपनाउन थालेका छन् ।

सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षिय वीरेन्द्र महतोलाई सोमबार बिहान पक्राउ गरेको छ ।
मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको पैदल गस्तीले महतोलाई नेपाल भारत दशगजा नजिकबाट बिहान पक्राउ गरेको हो ।

सशस्त्र निरीक्षक शुभाषचन्द्र मैनालीकाअनुसार जाँचका क्रममा बीआर ३२ एल ०६८९ नम्बरको पल्सर मोटरसाईकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेटभित्रबाट चाँदीको पोका फेला परेको थियो । बरामद चाँदीको बजार मूल्य १० लाख बढी हुने सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

नेपालमा भन्दा भारतमा चाँदी प्रति किलो ९ सयदेखि २ हजार रुपैयाँ बढीमा बिक्ने व्यवसायीले बताएका छन् । चाँदी बिक्री वापत उताबाट प्राप्त हुने भारतीय रुपैयाँ नेपाली बजारमा सय कडा २ देखि ५ रुपैयाँसम्म बिक्री हुन्छ । दोहोरो मुनाफा हुने भएपछि सुनचाँदी तस्करी हुने गरेको संघले जनाएको छ ।

वीरेन्द्रले चाँदी भारतको दरभंगा पुर्‍याउने जिम्मा लिएको बयानमा खुलाएका छन् । यसअघि २ पटक गरी २५ केजी चाँदी भारत छिराएको उनले स्विकारेका छन् । दरभंगाका कपिल नामका सुनचाँदी कारोबारी तथा त्यहाँका ठूला पसलमा पुर्‍याउने गरेको उनले बताए ।

सशस्त्र निरीक्षक मैनालीकाअनुसार वीरेन्द्रको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकका एटिएम, भारतीय पहिचान पत्र र भारतीय सवारी लाइसेन्स समेत बरामद भएको छ ।

वीरेन्द्रलाई चाँदीसहित जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहको छ । गत वर्षको साउन २० गते पनि मटिहानीस्थित सशस्त्र प्रहरीले धनुषा मुसहरनीया कै २० वर्षीय नागेन्द्र पासवानलाई १४ लाख मूल्यबराबरको २० किलो चाँदीसहित दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।

शेयर गरौ

ताजा अपडेट