चितवन समाचार डटकम, १२ असार ।
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले आफ्नै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले बिषयगत समितिको बाँडफाड बारेको निर्णय समयमा जानकारी नगराएको भन्दै नगर सभा बैठक अवरोध गर्नुभएको छ ।
बिषयगत समितिको बाँडफाडको सहमती गर्न नेकपा बाट वडा नम्वर १० का अध्यक्ष अरुणपिडित भण्डारी र काँग्रेसवाट वडा नम्वर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीको टिम बनाई वोर्ड बैठकवाट जिम्मेवारी दिइएको थियो । प्राप्त जिम्मेवारी अनुसार सो टिमले आज बिहान वाँडफाँड टुंग्याएको हो ।
सहमती अनुसार १० वटा बिषयगत समिति मध्ये ६ वटा नेकपालाई र ४ वटा नेपाली काँग्रेसलाई दिने गरी सहमती भएको थियो ।
नेकपालाई पूर्वाधार बिकास समिति, वातावरण समिति, सामाजिक बिकास समिति, बिद्येयक समिति, जिन्सी समिति र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति साथै नेपाली काँग्रेसलाई आर्थिक समिति, लेखा समिति, सुशासन समिति र खेलकुद समिति दिने गरि सहमती भएको हो ।
तर यस सहमती बारे आफुलाई आफ्नै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष चित्रसेन अधिकारीले समयमै जानकारी नदिएको भन्दै उपमेयर शाहले आज नगरसभाको अन्तिम दिनको बैठक शुरुवात नै हुन दिनुभएन । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उपमेयरलाई राजी गराउन सभास्थलमा धेरै प्रयास भएपनि सफल हुन सकेको थिएन ।

महानगरको महत्वपूर्ण निर्णय बारे आफुलाई समयमा जानकारी नदिएका कारण बैठकमा सहभागी हुन नसकेको उपमेयर शाहले प्रतिक्रिया दिनुभयो ।
“आज बिहान १० बजे पछि मलाई फोन गरेर महानगरमा आउन भनियो, म पनि उपमेयर हुँ मेरा पनि आफ्नै जिम्मेवारी छन् भन्ने वितिक्कै म कसरी आउन सक्छु सहमती वा छलफल वारे मलाई किन समयमै जानकारी भएन” उपमेयर शाहले भन्नभुयो ।

समयको चापका कारण बेलामा फोन गर्न नसकेकोमा वडाध्यक्ष अधिकारीले आफुवाट कमजोरी भएको बताउनुभयो । अधिकारी सहित काँग्रेसवाट निर्वाचित वडाध्यक्षहरु उपमेयरलाई कुरा बुझाउन दिनभर लागिपरेका थिए ।
मेयर रेनु दाहाल, उपमेयर शाह सहित असार ७ गते बसेको महानगरपालिकाको बोर्ड बैठकले नेकपाबाट भण्डारी र काँग्रेसबाट अधिकारीलाई समितिवारे टुंग्याउन जिम्मेवारी दिएको थियो ।

तर आफैले जिम्मेवारी दिएका आफ्नै पार्टीका वडाअध्यक्षले बेलामा फोन गरेनन् भनी सभाको बैठकनै अवरोध गरेकोमा आफु अचम्मित भएको मेयर दाहालले बताउनुभयो ।
“मैले पनि पटक पटक अनुरोध गरे, उहाँले मान्नुभएन । लेखा समिति आफुहरुले पाउनुपर्ने माग लिएर बिगतमा उहाँहरुले अडान लिनुभयो । अहिले त्यो पनि पुरा भएको छ । बिनाकरण रिसले नगर सभा बैठकनै रोक्नु त जायज भएन नि ।” मेयर दाहालले भन्नुभयो ।
नीति कार्यक्रम, केही बिद्येयक, बजेट पारित गरेर नगरसभा आज सम्पन्न गर्ने कार्यसुची रहेको थियो । अव के कसरी अगाडी बढ्ने बारे छलफल र परामर्श गरिरहेको मेयर दाहालले बताउभुयो ।


