चितवन च्याम्पियनसिपको उपाधि अभिषेक चर्चलाई, ‘फुटवल एकताको प्रतिक’: प्रचण्ड

चितवन, ०८ असार ।

चितवनको भरतपुरमा सञ्चालन भएको हानामी पाँचौँ चितवन च्याम्पियनसिपको उपाधि नवलपुरको अभिषेक चर्चले उचालेको छ । आज भएको फाईनल खेलमा रजहरको अभिषेक चर्चले भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
अभिषेक चर्चले उपाधिसँगै नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । घरेलु मैदानमा अभिषेक चर्चसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको प्रहरीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । उनले दोस्रो हाफको २१ र ३५ मिनेटमा गोल गरेका थिए । प्रतियोगिता सुरु भएको ११औँ मिनेटमा पुलिसका तर्फबाट सन्तोष हेमरुनले एक गोल गरेको भएपनि प्रहरीलाई जिताउन सकेनन् ।
प्रतियोगितामा तेस्रो भएको जु फुटबल क्लब जुगेडीले ५० हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।
सो प्रतियोगितामा अभिषेक चर्च रहजरका खेलाडी अजित गुरुङ म्यान अफ दी सिरिज घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ बेस्ट मिड फिल्डर, अभिषेक चर्चका मानबहादुर तामाङ बेस्ट डिफेन्स, अभिषेक चर्चका विदेशी खेलाडी योनिक बेस्ट स्कोरर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोर रक्षक घोषित भएका छन् । फरक फरक विधामा उत्कृष्ट भएका चारै जना खेलाडीले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा स्थानीय आठ सहित १६ वटा फुटबल टिमको समभागिता रहेको थियो । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेका थिए ।
खेल क्षेत्रले राष्ट्रिय एकतालाई मजबुत बनाउने दाहालले बताए । ‘फुटबलले राष्ट्रिय एकतालाई बलियो बनाउँछ’ प्रचण्डले भने, –‘खेलाडीहरुमा अनुशासन सिकाउनुका साथै राष्ट्र प्रेमका लागि फुटबलले महत्वपूर्ण सन्देश दिने गरेको छ ।’ खेल मार्फत स्वस्थ जीवन, सभ्य समाज, राष्ट्रको एकता, पहिचान र आर्थिक समृद्धिको माध्यम हुन गएकाले हामी सबैले खेललाई प्रोत्साहन गर्न जरुरी रहेको दाहालले बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल लगायतको उपस्थिती रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट