चितवन समाचार डटकम, ८ असार ।
गोर्खाका ५८ वर्षिय पुरुषलाई आज बिहान ९ बजे घरमा अत्यन्त बिषालु सर्प भाईवर ( हरियो सर्प) ले टोक्यो ।
उनी सर्पले टोकेको आधा घण्टामै अर्धचेत भए । गोर्खाबाट उपचारका लागी भरतपुर अस्पताल ल्याईपुर्याउदा दिउसो २ बजिसकेको थियो । बिषले शरिर गलाउनुका साथै मुखबाट रगत समेत वान्ता हुन थालेको थियो ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयु)मा भर्ना गरी उनको उपचार शुरु गरियो । ३० भाईल एएसभी( एन्टी स्नेक भेनम) चढाएपछि उनी साँझवाट होसमा आएका छन् ।
अहिले आईसीयुमा रहेका उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको भरतपुर अस्पतालले जनाएको छ ।
उनीसहित सर्पले टोकेर आज एक दिनमै नौ जना बिरामी भरतपुर अस्पताल आएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
ती मध्ये ६ जना चितवन, दुईजना गोर्खा र एकजना नवलपरासीबाट आएका पौडेलले बताउनुभयो ।
यी सबैको अस्पतालमा केहीको अनुसन्धान र केहीको उपचार चलिरहेको छ । सर्पले टोकेका बिरामीको उपचारमा एएसभी( एन्टी स्नेक भेनम) प्रयोग गरिन्छ । यो नेपाल सरकारले निशुल्क उपलब्ध गराएको हो ।
चितवनमा भरतपुर अस्पतालमा मात्र यो औषधि उपलब्ध छ । एकजना बिरामीलाई १० देखि ३० भाईल सम्म औषधि प्रयोग हुने गरेको पाइएको छ । यस बर्ष भरतपुरमा अस्पातलमा ९० जना सर्पदंशका बिरामी आएको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । यो संख्या गर्मीयामको नै हो । जाडो याममा सर्पको टोकाई कम हुने गरेको छ ।
भरतपुर अस्पतालमा चितवन, नवलपरासी, मकवानपुर, धादिंग, गोरखा, लमजुंग, तनहुँ, बारा, पर्सा आदीठाँउवाट बिरामी आउने गरेको अस्पतालले जनाएको छ । यी मध्ये नवलपरासीबाट आउने सर्पदंशका बिरामीको संख्या धेरै रहेको पौडेलले जानकारी दिनुभयो ।
सर्पदंशका लागि आकस्मिक कक्षमा तीनवटा र आईसीयुमा दुईवटा बेड जुनसुकैबेलाका लागी प्रवन्ध गरिएको अस्पतालले जनाएको छ ।
अहिले गर्मीको मौषम संग बर्षा शुरु भएकाले सर्पहरु बाहिर निस्कने क्रम बढेको छ ।


