नवलपरासी ,असार ७- सरकारले नीति तथा कार्यक्रममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको द्यौबादी फलाम खानीको उत्खनन् कार्य यसै बर्षदेखि हुने उल्लेख भएपछि यहाँका बासिन्दा हर्षित छन् ।अहिले उत्खनन हुने क्षेत्रमा प्रारम्भिक काम शुरु भएको छ । उत्खनन हुने क्षेत्रमा नापनक्सा र त्यहाँको पूर्वाधारका काम शुरु भएको छ । घोषणाले यहाँका बासिन्दामा खुशी सँगसंगै बिस्थापित हुने डर पनि केहीमा रहेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।द्यौबादीको फलाम खानीको २०६८ सालबाट नै अध्ययन गरिए पनि एक बर्ष अघि मात्र फलाम खानी उत्खननका लागि उपयुक्त हुने पत्तालागेको थियो ।
द्यौबादीको १० किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानी बाट दुई करोड टन बढि फलाम उत्पादन हुने भूगर्ब शास्त्रीहरुले यस अघि नै घोषणा गरिसकेका छन् । साबिक देउरालीको नाम्जाकोट हुदैं दक्षिणमा रुम्से र उत्तरको बौदीकाली गाउँपालिकाको नरमको ल्हापे सम्म यो फलाम खानी फैलिएको छ ।खानी तथा भूगर्भ बिभागको टोलीले २०६८ सालबाट अधययन शुरु गरे पछि एक बर्ष अघि मात्र यहाँको बास्तबिक फलामखानीको बारेमा पत्ता लागेको र अहिले सरकारले समेत आफनो नीति तथा कार्यक्रममा द्यौबादी फलाम खानीको यसै बर्षदेखि उत्खन्न शुरु गर्ने घोषणासँगै नवलपुरका बासिन्दामा थप उत्सुकता छाएको हुप्सकेोट गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।
भूगर्भ बिद्हरुले यहाँको कच्चा पदार्थमा ५८ प्रतिशत सम्म फलाम निकाल्ने तत्व भेटिएको छ भने फलाम खानीका लागि ६० प्रतिशत हेमटाईडेबर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यम खालको मानिने भएकाले यहाँको फलाम खानी उत्खन्न गर्ने प्रशस्त सम्भावना भएकाले सरकारले समेत यस्लाई बढी महत्व दिएको भूगर्भबिद्हरूले जनाएका छन् । भूगर्भबिद्हरुका अनुसार द्यौबादी फलाम खानीमा च्यानल ग्याप कम रहेकाले भित्र भित्रै सम्म प्रचुर रुपमा फलाम भेटिएको छ र यस्को पुष्टि सहितको प्रतिबेदन सरकारलाई बुर्झाइएको र यस बर्षदेखि द्यौबादी फलाम खानी उत्खन्नमा सरकार अघि बढेको छ । (गाेरखापत्रबाट )


