रसुवामा सुरुङमा थुनिएका १७ जनाकाे उद्दार

रसुवा, ६ असार । रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका १७ जना मजदुरलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

पहिरोले थुनेको सुरुङको मुख खोलिएको र सुरुङभित्र थुनिएका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई बाहिर निकालिएकाे रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

हिजो बेलुकी ८ बजेतिर खसेको सुख्खा पहिरोले निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वार पुरेको थियो । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका थिए ।

उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन् । सुरुङ्गभित्र अक्सिजन र सञ्चार सेट भएका कारण उद्धारमा सहज भएको जनाइएको छ । अहिले आयोजनास्थलमा डाक्टरको टोली समेत पुगिसकेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ । रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो । भूकम्पीय जोखिमयुक्त भएकाले पनि त्यहाँ पहिरोको सम्भावना धेरै रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट